वीरगंज : लकडाउनमा पटेर्वासुगौली गाउँपालिकामा एक युवाले मोटरसाइकलबाटै बेहुली अन्माएर लगेका छन्। पर्सागढी नगरपालिका–२ बागवन्ना निवासी बेहुला लालमोहनदास चौधरी मोटरसाइकलमा चढेर आए र पटेर्वासुगौली गापा–४ फरहदवा टोल निवासी बेहुली रुस्तम चौधरीसँग धार्मिक विधिअनुसार विवाह गरेर मोटरसाइकलमा लिएर फर्किए।
गत फागुनमा छेका(टिका टोलो) हुँदा विवाहको मिति तय आजको लागि तय भएको थियो। सोही अनुसार बुधवार विवाह कार्यक्रम भएको हो। लालमोहनदासले तीनवटा मोटरसाइकलमा पाँच जना जन्ती लिएर आएका थिए।
बेहुली पक्षबाट पनि घरपरिवारका सदस्यहरू मात्र सहभागी भएको जनायो। बेहुलीका पिता मुनीलाल चौधरीले निर्धारित समयमा विवाह गरेको बताए। उनले वैवाहिक कार्यक्रमका लागि नाचगान, टेन्ट, गाडी, भोजभतेरको व्यवस्थापन गरिए पनि लकडाउनको कारण सबै स्थगन गर्नुपरेको दुखेसो पोखे।