PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय : निर्माण सामग्री ओसारपसार गर्न पाउने, अरु के के खुल्यो?



पहिलोपोस्ट

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय : निर्माण सामग्री ओसारपसार गर्न पाउने, अरु के के खुल्यो?

काठमाडौं: सरकारले चैत ११ देखि जारी लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो।

बैठकपछि साँझ निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाले लकडाउन केही खुकुलो पारिएको जानकारी दिए।

उनका अनुसार औद्योगिक उत्पादन तथा वितरणका लागि खुला छाडिएको छ। साथै निर्माण सामग्रीको ढुवानीलाई पनि खुला छाडिएको छ।

मन्त्री खतिवडाले सुरक्षाको उपायहरु अपनाएर ढुङ्गागिट्टी उत्पादन प्रशोधन गर्न दिइने बताए। कृषि तथा पशुपन्छीको ढुवानीका लागि पनि खुकुलो पारिएको छ।

उद्योगबाट लोड भएका सामान गन्तब्य स्थलसम्म पुर्‍याउन पाइने भएको छ। त्यहाँबाट फर्किन पनि दिइने भएको छ। बीमा, बैंकिङ, धितोपत्र बजार सञ्चालनका लागि पनि व्यवस्था गरिएको छ। एक तिहाइ कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाइएको छ।

काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राख्नुपर्ने भएको छ। ग्यास, पानी, खाद्यान्नका साथै अन्य उत्पादन ल्याउन लैजान पनि दिइने भएको छ।

निर्माण उद्योगहरु पूर्ण रुपमा सञ्चालन गर्न दिइने भएको छ। राजमार्गका होटल तथा रेष्टुरेन्टहरु पनि सीमित रुपमा खोल्न पाइने भएको छ। त्यहाँबाट खानाको प्याकेट मात्र उपलब्ध हुने छ।

गाडी वर्कसप पनि खुल्ने भएको छ। अन्य विद्युतीय सेवा दिने क्षेत्र पनि खुला हुने निर्णय मन्त्रिपरिषदले गरेको छ।

बैठकले जेठ ५ गतेसम्म लकडाउन गर्दै जेठ १८ सम्मका लागि हवाइ उडान बन्द गर्ने निर्णय पनि गरेको मन्त्री खतिवडाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell