
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा छ। विवाद निरुपण गर्न भन्दै तीन पटक सचिवालय बैठक बसेको बस्यो। नेताका गुटका भेला पनि बाक्लै भइरहेका छन्।
पहिलो बैठकमा देखिएको तनाव दोस्रो बैठकमा देखिएन। प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गर्दै अघि बढने बताएपछि केहि शान्त भयो नेकपाको विवाद। तर, २० वैशाखमा सौहार्दपूर्ण रुपमा भएको सचिवालय बैठक बुधवार चार दिनपछि फेरि विवादमै फसेको छ।
बैठक नसकिँदै प्रम ओलीले बैठक छाडेर निस्के। बाँकी सचिवालय सदस्य बैठक अनिर्णित बनेको भन्दै बाहिरिए। औपचारिक जानकारी दिने जिम्मेवारी थियो प्रवक्ता नारायणकाजी श्रेस्ठलाई। उनी यसैको लागि पत्रकारको अघि उपस्थित भए।
प्रमको व्यस्तता र स्वास्थ्यको कारणले बैठकमा पूरा समय नबसेको उनले जानकारी गराए। तर, पत्रकारले अझ प्रष्ट पारिदिन भनेपछि प्रवक्ता श्रेस्ठ झर्किए। त्यसअघि उनले विभिन्न कारणले बैठकबाट बाहिरिने चलनै रहेको बताएका थिए।
उनी सचिवालय बैठक बारे खुलेर बोल्ने पक्षमा थिएनन्। बिट मार्न लगेका बेला पत्रकारले प्रश्न गरे, ‘एजेण्डाको कारण भनिएको छ, बैठकमा पेश गर्ने...’
पत्रकारले प्रश्न सक्न नपाउँदै उनले भने, ‘मैले भने नि त बाबा, त्यहि बुझ्नुस् न।’
पत्रकारले फेरि भने, ‘तपाईंले अझ क्लियर भनिदिनु पर्यो।’
‘क्लियर भनेको कस्तो हो?’ उनले प्रतिप्रश्न गरे।
फेरि बीचमै पत्रकारले सोधे, ‘भोलिको बैठक बस्छ कि बस्दैन?’
उनले भने, ‘दुई अध्यक्ष छलफलमै हुनुहुन्छ।’
यति भन्दै उनी पत्रकारको माझबाट बिदा भए।