हेटौँडा : हेटौँडा अस्पतालले देशमा नै रोबोटमार्फत सेवा दिने पहिलो सरकारी अस्पतालका रुपमा नाम दर्ता गराउन लागेको छ। हेटौँडाको कर्रामा रहेको अस्पतालको आइसोलेसन वार्डमा ‘सिस्टर रोबोट’ राखिने भएको छ। इञ्जिनियर एसोसिएसन वाग्मती प्रदेश समितिमार्फत हेटौँडा अस्पताललाई प्राप्त ‘सिस्टर रोबोट’ हस्तान्तरण गरिएको छ।
सो रोबोट कोरोना भाइरसको जोखिम कम गर्न उपयोगी हुने जनाइएको छ। स्वास्थ्यकर्मीले बिरामीसम्म प्रत्यक्ष पुगेर जाँच गर्ने, औषधिलगायतका काम गर्नुभन्दा ‘सिस्टर रोबोट’को माध्यमबाट काम गर्दा जोखिम कम हुने भएकाले हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ।
‘सिस्टर रोबोट’ हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस तथा अन्य संक्रमण हुने प्रकृतिका रोगको उपचारमा प्रविधिको उच्चतम प्रयोग गरेर जोखिम कम गर्नेतर्फ ध्यान दिनुपर्ने बताए। मुख्यमन्त्री पौडेलले अहिलेको युग भनेको प्रविधिको युग भएकाले यसैअनुसार काम गर्नुपर्ने धारणा राखे।
उनले आफू पनि बाँच्दै अरुलाई बचाउने विधि अपनाउनु पर्ने बताए। उनले प्रदेश सरकारले हेटौँडा अस्पतालसहित प्रदेश सरकार मातहतका अन्य अस्पताललाई पनि स्तरीय बनाइने बताए।
इञ्जिनियरका अनुसार रोबोटले बिरामीलाई, औषधि दिने, जाँच गर्ने तथा खाना पानीसमेत दिन सक्छ। जोखिमपूर्ण रोगका लागि ‘सिस्टर रोबोट’ उपयोगी हुने देखिएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठ बताउँछन्। उनले स्वास्थ्यकर्मी छुट्टै कोठामा बसेर कम्प्युटरका माध्यमले ‘सिस्टर रोबोट’ बिरामीकहाँ पुर्याउने, बिरामीले आफ्ना कुरा भिडियोमार्फत राख्ने र त्यहीअनुसार उपचार गरिने जानकारी दिए।
‘सिस्टर रोबोट’ ले ३० केजीसम्मको वजनका सामग्री बोक्न सक्ने जनाइएको छ। रिमोटका माध्यमले बिरामीसम्म लान तथा ल्याउन सकिने रोबोट कोरोना संक्रमितकोे उपचारका लागि निक्कै नै उपयोगी हुने नेपाल इञ्जिनियर एसोसिएसन वाग्मती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले जानकारी दिए।