
नयाँ दिल्ली : भारतमा एकै दिन ३ हजार ६ सय थपिएपछि कोरोना संक्रमितको संख्याले ५० हजारको सीमा पार गरेको छ। गएको २४ घन्टामा पहिलो पटक ३ हजारभन्दा बढी संक्रमित भारतमा भेटिएका हुन्। थपिएका सहित भारतमा कोभिड १९ संक्रमितको संख्या ५२ हजार ९ सय ३५ पुगेको छ।
भारतमा सबैभन्दा भयपूर्ण अवस्था यो हो कि पछिल्ल ३ दिनमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन्। बुधवारमात्रै ९३ जनाले ज्यान गुमाएका छन् कोरोनाका कारण।
भारतको महाराष्ट्रमा थप १२ सय ३३ जनामा संक्रमण देखिएको छ। महाराष्ट्रमा मात्रै संक्रमितको संख्या १६ हजार ७ सय ५८ पुगेको छ। एकै दिन ३४ जनाको मृत्युपछि यहा मर्नेको संख्या ६ सय ५१ पुगेको छ। भारतमा अहिलेसम्म कोरोनाका कारण मर्नेको संख्या १ हजार ७ सय ७७ पुगेको छ।
दिल्लीमा संक्रमितको संख्या ४ सय २८ थपिएपछि कूल संख्या ५ हजार ५ सय ३२ पुगेको छ।
नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा थप १ सय १८ जनामा कोभिड १९ देखिएको छ। उत्तर प्रदेशमा अहिलेसम्म २ हजार ९ सय ९८ जनामा संक्रमण देखिएको छ। त्यहाँ बुधवार ४ जनाको मृत्यु हुँदा मर्नेको संख्या ६० पुगेको छ। उत्तर प्रदेशमा संक्रमितको तुलनामा अस्पतालबाट ठीक भएर निस्किनेको संख्या अधिक छ। यहाँ २४ घन्टामा १ सय ४३ जना डिस्चार्ज भएका छन्।