PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लकडाउन अवधिमा ४ सय ९२ जनाको आत्महत्या : सबैभन्दा धेरै प्रदेश नम्बर १ मा



पहिलोपोस्ट

लकडाउन अवधिमा ४ सय ९२ जनाको आत्महत्या : सबैभन्दा धेरै प्रदेश नम्बर १ मा

काठमाडौं : डेढ महिनाको अवधिमा ४ सय ९२ जनाले आत्महत्या गरेका छन्। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि वैशाख २० गतेसम्म ४ सय ९२ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। सबैभन्दा धेरै आत्महत्याको घटना प्रदेश नम्बर १ मा भएको देखिएको छ। १ नम्बर प्रदेशमा ९४ जनाले आत्महत्या गरेका छन्।

प्रदेश नम्बर ५ मा पनि आत्महत्या गर्नेको सङ्ख्या उतिकै छ। लकडाउनको ४० दिनको अवधिमा ९३ जनाले आत्महत्या गरेका छन्। गत सोमवारमात्र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आत्महत्या गरेका थिए।

उदयपुरका २४ वर्षीय हिराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्काले सँगै आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। धेरै जसो आत्महत्याको कारण मानसिक तनाव, आर्थिक अवस्था लगायत भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए।

कर्णाली प्रदेशमा भने अन्य प्रदेशको तुलानामा कम आत्महत्या भएको देखिन्छ। त्यहाँ ३० जनाले आत्महत्या गरेका छन्। त्यस्तै सुदुरपश्चिम प्रदेशमा ४१ जनाले आत्महत्या गरेका छन्। प्रदेश नम्बर २ मा ७३, वागमती प्रदेशमा ६४ र गण्डकी प्रदेशमा ६० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

यसरी आत्महत्या गर्न उनीहरुले पासो प्रयोग गरेको देखिएको छ। अर्थात् सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन्। सल, प्लास्टिकको डोरी, कपडा प्रयोग भएको देखिएको छ। ४ सय १३ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। ७१ जना विष प्रयोग गरेको देखिन्छ। पानीमा डुबेर आत्महत्या गर्नेको सङ्ख्या ४ रहेको छ। यस अवधिमा ३ जनाले हतियार प्रयोग गरेर आत्महत्या गरेका छन्।

गएको आर्थिक वर्ष ०७५/७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका थिए। त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए। आर्थिकवर्ष ०७४/७५ मा आत्महत्या गर्नेको संख्या झनै उकालो लाग्यो र ५ हजार ३ सय १७ पुगेको थियो। विगतको तथ्याङलाई हेर्दा नेपालमा दैनिक १४ देखि १५ जनाले आत्महत्या गरेको देखिन्छ।

उपत्यकाभित्र भने ४० दिनको अवधिमा ३७ जनाले आत्महत्या गरेका छन्। १२ जना महिला र २ जना बालबालिका समेत रहेका छन्। यसरी आत्महत्या गर्ने महिला मध्ये ८ जनाको घरायसी समस्याको कारण आत्महत्या गरेको खुलेको छ।

'महिलाहरुको आत्महत्यामा धेरै घरायसी कारण देखिएको छ। घरभित्रका सानासाना समस्या देखि विवादले आत्महत्या गरेको पाइएको छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले भनिन्।

आत्महत्या गर्ने दुई बालबालिका मध्ये एक मानिसक रोगी भएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell