PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कडा लकडाउनमा बस्ने यी मुसा जो बिरालोभन्दा ठूला हुन्छन्



पहिलोपोस्ट

कडा लकडाउनमा बस्ने यी मुसा जो बिरालोभन्दा ठूला हुन्छन्

  • राजु आचार्य -

२०४९ सालमा मुस्ताङ जिल्लामा पहिलो पटक पुगेको थिएँ। घर छोडेर यति लामो हिँडाई पनि पहिलो पटक नै थियो। उपल्लो मुस्ताङको स्याङ्बोचे पुग्ने बेलामा केही पर एउटा अनौठो जीव देखियो। मैले जीवनमा नदेखेको जीव थियो त्यो। बिरालो जस्तो, खैरो रङ, बुर्कुसी मारेर ठूलाठूला दुलातिर जाँदै थियो। खुट्टा साना थिए। तल र माथि दाह्रा प्रस्ट देखिन्थे। बेलाबेलामा दुई खुट्टाले उभिएर मलाई हेर्थ्यो। चिटचिट गरेको आवाज कर्कशलाग्दो सुनिन्थ्यो। मलाई त्यसको आवाज त्यतिखेर मन परेन। सुरुमा म डराएको पनि थिएँ। ढुक्क के मा भएँ भने मलाई देखेर त्यो पनि डराइरहेको थियो। मुस्ताङमा ४ वर्ष बस्दा थाहा पाएँ त्यो मेरो सातो लिने त मुसो रहेछ।

मजस्तै मुसा देखेर बिरालो डरायो भने के होला? कस्तो छेरुवा बिरालो भन्छौं। घरपालुवा बिरालो र यो वनको मुसालाई सँगै राख्ने हो भने त्यस्तो हुन् सक्छ। हुन् पनि हो यो अजङ्गको मुसा देखेर सानातिना बिरालोको त सातो नै जानसक्छ। यो मुसालाई फ्याउ मुसा भनिन्छ। उच्च हिमाली भेगमा पाइने यो मुसालाई नचिन्ने कमै होलान्। हिमालतिर यसलाई फे वा फ्या नामले समेत चिनिन्छ।

यो मुसाको अर्को विशेषता के हो भने, दैनिक घन्टौं दुलामा बसिरहने। दैनिकमात्र होइन महिनौं पनि बस्न सक्छ। बर्खाभरि खाएर हिउँदभरि कम्तीमा ६ महिनासम्म दुलामा लकडाउनमा रहन सक्ने। अङ्ग्रेजीमा हाइवरनेसन (सुषुप्त) भनिन्छ यसरी रहने अवस्थालाई। यो अवधिमा सास फेर्ने र जीवन धान्ने बाहेकका सबै कामहरू लगभग शून्य बराबर हुन्छ। चिसोबाट बच्न र खाध्यान अभावबाट जुध्न यसो गर्छन् तिनीहरु। शरीरमा रहेको बोसोको सहयोगले यिनीहरू जिवित रहन्छन्।

मुसासहित अन्य केही वन्यजन्तुहरू पनि यस्तै खालको नियमित लकडाउनमा रहन्छन्। उनीहरू यो प्राकृतिक नियमलाई अनुशासित भई पालना गर्छन्। मानिसहरू जस्तै नियम भङ्ग भने गर्दैंनन्। हामीले त कम्तिमा घर वरिपरि घुम्न पाएका छौँ, गफ गर्न पाएका छौँ, खान पाएका छौँ। तर, यी फ्याउ मुसाहरू त केही पनि नखाई कम्तिमा ६ महिनासम्म कडा लक डाउनमा बस्छन्।

यो मुसाले घाँस, बिरुवाको जरा आदि खाएर जीवन निर्वाह गर्छ। ३२ दिनको गर्भधान पछि एक पटकमा १२ वटासम्म बच्चा जन्माउँछ। यो मुसालाई हिउँ चितुवा, हिमाली खैरो भालु, ब्वाँसो, फ्याउरो, सुन गिद्ध आदिले आफ्नो आहारा बनाउँछन्। यिनलाई सबैभन्दा मन पराउने वन्यजन्तुमा हिमाली खैरो भालु पर्छ। खैरो भालुले यिनीहरु बस्ने दुलो पत्ता लगाएपछि मेहनतका साथ दुलो भत्काएर सिकार गर्छन्।

यिनीहरूको उपस्थितिले उच्च हिमालमा अन्य जीवहरूको अस्तित्व बारेमा समेत अनुमान गर्न सक्छौं। यिनीहरू जमिनमुनि अन्य मुसाहरू जस्तै दुलोमा बस्छन्। तर, यिनीहरू दिउँसोमात्र सक्रिय हुन्छन्। केही स्थान तथा खेतबारीमा यिनीहरुले चर्दा नोक्सान भए पनि अरु धेरै खराबी गर्दैनन्। यिनीहरू स्वस्थ हिमाली वातावरणका सूचक पनि हुन्।

तर, यो मुसालाई चौतर्फी चुनौतीमात्रै छ। यसको बोसो जोर्नी दुखेको सन्चो हुन्छ भन्दै बिक्री हुन्छ। ‘बुढा पाकाहरू यसको बोसो निकै प्रभावकारी हुने र तातो बोसोको पगालेर हत्केलामा राख्यो भने हात छेडेर तल चुहिने बताउँछन्,’ वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक करनबहादुर शाह भन्छन्, ‘यही अन्धविश्वासको कारणले यिनलाई चुनौती थपिएको छ।’ कसैकसैले त यसको मासुको रक्सी समेत बनाउँछन्। मासु खानेहरू पनि बग्रेल्ती भेटिन्छन्। छाला चकटीका रूपमा प्रयोग हुन्छ। यिनीहरू उच्च हिमाली भेगमा पाइन्छन्। अहिले बन्दै गरेका चीनतिरका बाटाहरूले यिनको वासस्थानलाई थप असर गरेको छ।

नेपालमा यो जीवको सङ्ख्यामा कति छ भनेर अनुमानसमेत गरिएको छैन। डाक्टर शान्तराज ज्ञवाली सहितको समूहद्वारा सङ्कलित जानकारीको आधारमा तयार गरिएको प्रतिवेदनले नेपालमा यिनीहरूको दुई प्रजाति पाइने उल्लेख छ। हिमाली फ्याउ मुसा र फ्याउ मुसा। प्राध्यापक करनबहादुर शाह र हेमसागर बरालद्वारा लिखित पुस्तकमा पनि सोही सङ्ख्या उल्लेख गरिएको छ। तर, अन्तर्राष्ट्रिय संरक्षण सङ्घले आफ्नो वेबसाइटमा नेपालमा एक प्रजातिको मात्र पाइने भनेर उल्लेख गरेको छ।

यसका विभिन्न आयामबारे थप अध्ययन हुन् बाँकी नै छ। नेपालमा हालसम्म उच्च हिमाली भेगमा हुने पशुपालनले फ्याउ मुसाको बानी र खानामा परेको असरबारे नेपाली वैज्ञानिक डाक्टर बुद्धिसागर पौडेलले विद्यावारिधि गरेका छन्।

प्रकृतिमा रहेका सबै वन्यजन्तुको आ-आफ्नै महत्त्व छ। यिनको महत्त्वका विभिन्न आयामहरूको बारेमा अध्ययन हुन् बाँकी नै छl हामीले यिनको महत्त्व थाहा पाउनु अघि लोप नभइदिए हुन्थ्यो बस्।

यिनका बारे रमाइला जानकारी:

  • प्राकृतिक अवस्थामा यिनीहरू ६-१५ वर्षसम्म बाँच्छन्।
  • २ देखि १० केजी सम्मका हुन्छन्।
  • विश्वभर यिनका करिब १५ प्रजातिहरू अभिलेख छन्। यिनीहरू एसिया, युरोप र उत्तर अमेरिकामा फैलिएका छन्।
  • यिनीहरूको सुँघ्ने र सुन्ने क्षमता राम्रो हुन्छ तर दृष्टि कमजोर हुन्छ।
  • एक आपसमा सुसेली हालेर, दाँत बजाएर सूचनाहरू आदान प्रदान गर्छन्।
  • खतरा छ भन्ने लाग्यो र देखे भने सुसेली हालेर सबैलाई सचेत गराउँछन्।
  • मुसा भए पनि प्राय दिउँसो सक्रिय हुन्छन्।
  • यिनीहरू बस्ने दुलाहरू ७ मिटरसम्म लामा भेटिएका छन्।
  • ग्रिक सभ्यतामा यसलाई सुन खोस्रने किरा भनेर उल्लेख गरिएको छ।
  • यसको मासु खाँदा प्लेग जस्ता रोगहरू मानिसमा सरेको अनुमान गरिएको छ।
  • कतिपय स्थानमा यसको छाला चकटीको रूपमा प्रयोग गरिन्छ।
  • यिनीहरू नेपालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, कन्चनजङ्गा संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, हुम्ला जिल्ला आदिमा भेटिएका छन्।

आउनुस् यिनको भिडिओ पनि हेरौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell