
आन्द्र प्रदेशको विशाखापटनम जिल्लामा एउटा केमिकल उद्योगबाट निस्केको ग्यासका कारण दुई महिला र एक बालकसहित कम्तिमा ८ जनाको मृत्यु भएको छ। हजारभन्दा धेरै मानिस ग्यासका कारण अस्वस्थ भएका छन्। बिहीवार बिहान ३ बजे एलजी पोलिमर्स लिमिटेडको गोपालपथनममा रहेको उद्योगबाट ग्यास चुहिएको थियो।
ग्यासको गन्धका कारण मानिसहरु घरबाट बाहिर सडकमा निस्किँदा निस्किँदै ढलेका थिए। धेरे संख्यामा वृद्धवृद्धा र साना केटाकेटी ग्यासका कारण घरमा नै मुर्छित भएको त्यहाँका प्रहरीले अधिकारीले जानकारी गराएका छन्।
'गन्धका कारण प्रहरीहरु नै कोलोनी भित्र जान सकेका छैनन्,' प्रहरीका असिस्टेन्ट कमिसनर स्वरुपा रानीले भनिन्, 'नजिकै पुगेर घरबाट सकेसम्म बाहिर निस्कन र सुरक्षित ठाउँमा बस्न भनेका छौं।'
विरामी लिन पुगेका एक एम्बुलेन्स चालक नै ग्यासका कारण मुर्छित भएका थिए। प्रहरीको सहायतामा मानिसहरु सुरक्षित स्थानतिर गएका छन्। ग्यासका कारण प्रभावित भएकाहरुलाई किङ जर्ज अस्पताल सहित निजी अस्पतालहरुमा पुर्याइएको छ।
नेसनल डिजास्टर रेस्पोन्स फोर्सको एउटा टिम घटनास्थल पुगेको छ। हिन्दुस्तान पेट्रोलियम कर्पोरेसनका अग्नि नियन्त्रकहरुले त्यस क्षेत्रमा पानीको प्रयोग गर्दै ग्यासको असर घटाउने प्रयास गरिरहेका छन्।
उद्योगबाट चुहिएको ग्यास २० वटा गाउँसम्म फैलिएको छ जसबाट हजारौं मानिसहरु प्रभावित भएका छन्। कोरोना संक्रमणका कारण एम्बुलेन्सलाई अन्यत्रै पठाइएकाले पनि विरामी भएकाहरुलाई ओसार्न कठिन भएको छ।
लकडाउनका कारण ४० दिनदेखि बन्द रहेको एलजी पोलिमर्स कम्पनीले आजैबाट कम्पनी पुन: संचालनमा ल्याउने तयारी गरेको थियो।