
काठमाडौ: अखिल नेपाल फुटबल संघ एन्फा पूर्वअध्यक्ष गणेश थापाले एन्फा निरंकुशताको बाटोमा अघि बढेको आरोप लगाएका छन्।
थापाले सामाजिक सन्जालमा ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई सामाजिक सन्जालमा लेखेकै आधारमा २४ घन्टाभित्र एन्फाले स्पस्टीकरण दिन लगाएकोमा आपत्ति जनाएका हुन्। थापाले आफ्नो कार्यकालमा समितिमै रहेका र अहिलेको नेतृत्वमा रहेका पदाधिकारीले त्यतिबेला दिएका सार्वजनिक अभिव्यक्तिहरुलाई समेत पुनरावलोकन गर्न समेत चुनौती दिएका छन्।
'व्यक्तिगत सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकोमा ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापालाई २४ घण्टे समय दिएर किन कारवाही नगर्ने भनेर अखिल नेपाल फुटबल संघले स्पष्टिकरण सोधेकोमा आश्चर्यचकित भएको छु,' थापाले फेसबुकमा लेखेका छन्, 'हिजोका दिनमा तत्कालीन उपाध्यक्ष हाल वर्तमान अध्यक्षले एन्फा र मप्रति गरेका सार्वजनिक अभिव्यक्तिहरू पुन एकपटक हेर्नको निमित हार्दिक अनुरोध गर्न चाहन्छु। जुन ढंगले एन्फा निरंकुश तर्फ अगाडि बढिरहेको छ। यसको म घोरभर्त्सना गर्न चाहन्छु।'
व्यक्तिगत सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकोमा ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापालाई 24 घण्टे समय दिएर...
Posted by Ganesh Thapa on Wednesday, May 6, 2020
थापाले एन्फाको कार्यसमिति निर्वाचित भएको दिनको अवसरमा शुरु गरिएको 'एन्फा डे' मनाउनु सामान्य विषय भएको भन्दै यो दिन 'खेलाडी रुवाएर' गरिएको समेत आरोप लगाएका छन्। 'एन्फा डे' लाई थापाले 'कालो दिन' भएको भन्दै अभिव्यक्ति दिँदै आएका छन्। उनले खेलाडीले पाउँदै गरेको कार, अपार्टमेन्ट जस्ता सुविधा कटौती गरेर मनाउन सुरु गरिएकाले यसलाई कालो दिन भनेर अभिव्यक्ति दिँदै आएका छन्। उनले एन्फा नेतृत्वलाई सामाजिक सन्जालमा हुने सरकारको विरोध, असन्तुष्टी र गालिगलौचलाई पनि हेर्न आग्रह गरेका छन्।
एन्फाले अघिल्लो वर्षबाट नयाँ कार्यसमिति नेतृत्वमा आएको दिन वैशाख २२ गतेलाई 'एन्फा डे' का रुपमा मनाउन थालेको थियो। अघिल्लो वर्ष विभिन्न पुरस्कारहरु वितरण गर्दै भव्य कार्यक्रम गरेको भए पनि यसपटक बढ्दो कोरोना सङक्रमणका कारण एन्फाले कुनै औपचारिक कार्यक्रम आयोजना गरेन।
पुरुषत्तम थापाले यसअघि पनि एन्फा नेतृत्वविरुद्द आवाज उठाउँदै आएका थिए।