काठमाडौं : संसारका सबै राष्ट्रहरु कोभिड-१९ पान्डेमिकविरुद्ध यतिबेला जुधिरहेका छन्। नेपालमा हालसम्म ९९ जना संक्रमित फेला पर्दा प्रदेश ५ मा मात्रै २४ जना कोभिड-१९का संक्रमित छन्।
कोरोना भाइरसविरुद्ध लड्न केन्द्र सरकारले लगाएको लकडाउनलाई कार्यान्वयनको पाटो त छँदै छ, प्रदेश ५ सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट पनि कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्ने उपाय सुझाएको छ।
'आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन सन्दर्भमा तयार पारिएको स्रोत सामाग्री २०७७ आधारित सेल्फ केयर गाइडलाइन तयार गर्दै प्रदेश सरकारले कोरोना भाइरसबाट बच्नका लागि साँझसाँझ ध्यान, प्राणायम गर्न सुझाव दिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको गाइडलाइनमा घरभित्रै गरिने आ-आफ्नो धर्ममा आधारित जप, भजन मन्त्रोच्चारण गर्न सुझाएको छ।
प्रदेश सरकारले मध्यान्ह र अपरान्हमा गर्ने क्रियाकलाप पनि गाइडलाइनमा राखेको छ। जस अनुसार दिउँसो नसुत्न सुझाव दिइएको छ, त्यो पनि गृष्म ऋतुबाहेकमा।
त्यस्तै, गाइडलाइनमा 'दिउँसो घरमा रचनात्मक कार्यहरु गर्ने जस्तै : अध्ययन, करेसाबारीमा काम गर्ने, खेल खेल्ने, बालबच्चाहरुको उत्सुकता तथा कौतुहलता मेट्न सह-साथित्वको विकास गर्ने, साहित्य तथा संगीत (राग संगीत आदि) सुन्ने, नृत्य र विद्युतिय सञ्चार माध्यमद्वारा स्वस्थ सामाजिक सम्पर्क कायम राख्ने' सुझाव दिइएको छ।
त्यस्तै, गाइडलाइनमा सबेरै उठ्ने र दैनिक ३० मिनेट योग गर्नेसम्म सुझाव दिएको छ।
'विहान सबेरै (सूर्योदय हुनुभन्दा करिब ४५ मिनेट पहिला) उठ्नुहोस्। उठेपछि करिब एक गिलास मनतातो पानि प्युनुहोस् (सकभर तामाको भाडामा राखेको),' गाइडलाइनमा भनिएको छ, 'दैनिक रुपमा शारीरिक कसरत, योगाभ्यास, प्राणायम तथा ध्यान कम्तिमा २० मिनेट गर्नुहोस्।'
त्यस्तै, गाइडलाइनमा 'प्रतिमर्श नष्य' गर्न सुझाब दिइएको छ। जस अन्तर्गत दुवै नाकको प्वालमा दुई/दुई थोपा तिलको तेल वा गाईको घ्यु राख्न भनिएको छ। त्यस्तै गण्डुष/कवल गर्नसमेत सुझाइएको छ।
जसअन्तर्गत एक चिया चम्चा तिलको तेल/तोरीको तेल/नरिवलको तेल मुखमा राखी कुल्ला गर्ने। तत्पश्चात मनतातो पानीले मुख कुल्ला गर्नसमेत सुझाइएको छ। त्यस्तै गाइडलाइनमा नुन र बेसार वा त्रिफला र जेठीमधु राखी मनतातो पानिले मुख कुल्ला गर्नसमेत सुझाब दिइएको छ।
त्यस्तै गाइडलाइनमा खानपानको शैलीबारे पनि सुझाव दिइएको छ।
'गर्मीयाममा शरीरबाट पसिना आई जलियांशको अत्याधिक क्षयीकरण हुने भएकाले दिउँसो कागती सर्वत, बेल सर्वत, पुदिना सर्वत सेवन गरी शरीरमा पानीको मात्रा कायम गर्ने,' गाइडलाइनमा अगाडि भनिएको छ, 'आयुर्वेद चिकित्सा शास्त्रमा उल्लेखित सागपात तथा फलफूलहरुको शितलचिनी (शिग्र), करेला, परवल, मुङ्ग, बेथे, लसुन, दाडिम, सुकाइएको अंगुर (किसमिस) पुनर्नवा, कमाइको साथपता (काकमाची) सेवन दैनिक गर्ने। कोइरालोको फूलको सेवन गर्ने।'
गाइडलाइनले सुझाएको खानाखाने शैली
१. भान्सामा लसुन, टिम्मुर, अदुआ, जिरा, ज्वाँनो, धनिया, मरहठी, कागती जस्ता औषधीय गुण भएका मसलाहरुको नियमित प्रयोग गर्ने।
२. टुसा उमारेको मुङ्ग, गेडागुडी तथा घरेलु कन्दमुल जस्तै बदाम, गिठा, भ्याकुर, तरुल जस्ता खाद्य परिकारको संभव भएसम्म उपयोग गर्ने।
३. औषधीजन्य सुपको प्रयोग : शुण्ठी जल ( आधा इन्च साइजको अदुवाको सुठो लाई १ लिटर पानीमा राखी पकाएको पानी), दालचिनी पानी (एक इन्च साइजको दालचिनीको टुक्रोलाई १ लिटर पानीमा राखी पकाएको पानी)। यसले शरीरमा जलवियोजन हुन नदिनुका साथै शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
४. बेलुका सुत्नुभन्दा ३ घण्टा अगावै भोजन गर्नुपर्नुपर्दछ। दिनहुँ ताजा मौसमी सागपात र फलफूलको सेवन ।
त्यस्तै, गाइडलाइनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीहरुको प्रयोगलाई समेत सुझाव दिएको छ। गुडुची (गुर्जो/चिनी लहरो), अमला, बेसार/हलेदो, तुलसी, भुँई अमला, दालचिनी, मरिच, शुण्ठी र मुनक्कालगायत सेवन गर्नसमेत सुझाव दिइएको छ।