PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

धुम्बाराहीको भेलाको निर्णय : स्थायी समिति बैठक बोलाउन दुवै अध्यक्षलाई 'प्रेसर' दिने जिम्मा नेता रावल र शर्मालाई



प्रकाश भण्डारी

धुम्बाराहीको भेलाको निर्णय : स्थायी समिति बैठक बोलाउन दुवै अध्यक्षलाई 'प्रेसर' दिने जिम्मा नेता रावल र शर्मालाई

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यालयमा धुम्बाराहीमा बसेको वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षधर स्थायी समिति सदस्यहरूको भेला स्थायी समिति बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ।

बिहीवार दिउँसो बसेको भेलाले नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाललाई भेटेर दबाब दिने  निर्णय गरेको हो।

भेलाले अध्यक्षलाई दबाब दिनको लागि समिति सदस्य भीम रावल र जनार्दन शर्मालाई जिम्मा दिएको छ। भेलामा सहभागी स्थायी समिति सदस्यहरूले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए।

छलफल अनौपचारिक भएको नेकपा स्थायी समिति सदस्य गणेश शाहले बताए।

'पार्टीमा किचलो बढेको छ। फेरि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको हो। जनार्दन शर्मा र भीम रावललाई अध्यक्षहरूलाई भेटेर दबाब दिने भन्ने कुरा भएको छ,' उनले भने।

तर, प्रधानमन्त्री नै फेर्ने भन्ने माग आफूहरूको नभएको शाहले बताए।

प्रधानमन्त्री फेर्ने सम्मको कुरा उठ्न सक्ने भन्ने भए पनि प्रधानमन्त्री नै फेर्ने चर्चा हल्ला भएको उनले दाबी गरे।

'मिस कम्युनिकेसन भएको छ। यसलाई प्रस्ट पार्नुपर्ने पनि छ। खासमा हामीले प्रधानमन्त्री फेर्ने भनेका होइनौँ। पार्टीको विधानको कुरा गरेका हौँ,' उनले भने।

प्रचण्ड-नेपाल निकट नेताहरू एक व्यक्ति एक पदको माग राखिरहेका छन्।

प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद सतहमा आएको हो।

गत शनिवारको सचिवालय बैठकपछि विवाद केही शान्त भए पनि बिहीवारको सचिवालय बैठक भने तनावपूर्ण बनेको छ। शनिवारको बैठकमा ओली आत्मालोचना गर्दै एक व्यक्ति एक पदको विषय मान्न तयार भए पनि बिहीवारको बैठकमा उनी मान्न तयार भएनन्।

बैठकको बीचमा नै उठेका ओलीले स्थायी कमिटीको बैठक अहिले बस्न नसक्ने बताएका थिए।

भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल भने सहभागी भएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell