PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

नेपाल छिर्न खोज्ने दुई भारतीयलाई रोक्दा बिओपी पोस्टमा आक्रमण, स्थिति नियन्त्रणमा लिन हवाई फायर



राधेश्याम पटेल

नेपाल छिर्न खोज्ने दुई भारतीयलाई रोक्दा बिओपी पोस्टमा आक्रमण, स्थिति नियन्त्रणमा लिन हवाई फायर

वीरगंज : बाराको सुर्वण गाउँपालिका ३ कबहीगोठस्थित नेपाल–भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा भारतीय नागरिकले बिहिवार दिउँसो आक्रमण गरेका छन्। लकडाउनको समयमा नेपाल प्रवेश गर्न खोजेका दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय नागरिकले सशस्त्र प्रहरीको पोस्टमा आक्रमण गरेका हुन्।

नेपालतर्फ प्रवेश गर्न खोज्ने दुई जनालाई सशस्त्र प्रहरीले सीमाबाटै फर्काएपछि करिब एक सयको संख्यामा आएका भारतीय नागरिकले प्रहरी पोस्टमा क्षति पुर्‍याएको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिएका छन्। भारतीय नागरिकले आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ। नेपालको बाटो भएर भारतीयहरु भारतमा पर्ने खेतमा जान लागेका थिए।

‘सीमा पारीबाट नेपालतर्फ आउन खोज्नेलाई रोकेर फर्काएपछि एक सयको संख्यामा भारततर्फका नागरिक आएर तोडफोड गर्न शुरु गरे’, सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले भने, ‘अस्थायी पोस्टमा सामान्य क्षति भएको छ। हामीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेका हौँ।’

सीमामा खटिने भारततर्फका सीमा सुरक्षा बल (एसएसबी)को समन्वयमा नभएर जबरजस्ती नेपाल प्रवेश गर्नेलाई रोक्न खोज्दा स्थिति केहीबेर तनावपूर्ण बनेको सुवेदीले बताए। केहीबेरको तनावपछि अहिले स्थिति सामान्य बनेको सुवेदीले जानकारी दिए।

‘अहिले स्थिति सामान्य भइसक्यो। क्षति पुगेको पोस्ट उनीहरुले नै बनाइदिने भएका छन्,’ सुवेदीले भने।

कोरोना संक्रमण फैलिन नदिन दुवै देशका सरकारले सीमा क्षेत्रमा कडाई गर्न निर्देशन दिएका छन्। तर, खुल्ला सीमाको फाइदा उठाउँदै दुवै देशका नागरिकले आवतजावत गर्न खोज्दा सुरक्षाकर्मीसँग विवाद हुने गरेको छ। दुई दिनअघि बाराको विश्रामपुर ४ बलिरामपुरमा खेतमा गएका स्थानीयलाई भारतीय एसएसबीका जवानले रोकेपछि स्थिति तनावपूर्ण बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell