PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

‘टेस्ट किट’ सकिएपछि सुदूरपश्चिम प्रदेशमा रोकियो कोरोना भाइरस परीक्षण



एम बम

‘टेस्ट किट’ सकिएपछि सुदूरपश्चिम प्रदेशमा रोकियो कोरोना भाइरस परीक्षण

कैलाली : ‘टेस्ट किट’को मौज्दात सकिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षण रोकिएको छ। प्रदेशका लागि कैलालीको धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पिसिआर मेसिनमार्फत हुने कोरोना परीक्षण रोकिएको हो।

गएराति चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि बिहीवारबाट परीक्षण बन्द भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थिको भनाइ छ।

‘किटको मौज्दात सकिएपछि आजबाट कोरोना परीक्षण रोकिएको हो’, उनले भने, ‘हामीलाई अभाव भएका सामग्रीहरु बिहीवार दिउँसो तीन बजे काठमाडौं आइपुगेको जानकारी हामीले पाएका छौँ। ती सामग्री पर्सीसम्म यहाँ आइपुग्ने र त्यसलगत्तै परीक्षण थालिने छ।’

किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५५ जनाको परीक्षण रोकीएको छ।
पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्स्ट्र्याक्सन किट आवश्यक हुन्छ। पिसिआर किटको मौज्दात भएपनि आरएनए एक्स्ट्र्याक्सन किट सकिएपछि परीक्षण बन्द भएको उनले बताए।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण राज सुवेदीले किट अभावले रोकिएको परीक्षणलाई छिट्टै सञ्चालन गर्ने दाबी गरे।

‘हामीले केन्द्र सरकारले खरिद गर्ने प्रक्रियामा रहेका स्वास्थ्य सामग्रीबाट पनि माग गरेका छौँ। १० हजार किट दिन्छौं भन्ने आश्वासन पाएका छौँ’, उनले भने, ‘स्वास्थ्य सामग्री खरिदका लागि प्रदेशले आफैँ पनि टेण्डर आह्वान गरिसकेको छ।’

सुदूरपश्चिमको धनगढीमा स्थापना गरिएको ल्याबबाट दैनिक डेढ सय बढीको परीक्षण गर्न सकिने दाबी गरिएको थियो। आरटी–पिसिआर मेसिन जडान गर्दा १२ घण्टामा ९० जनाको परीक्षण गर्न सकिने क्षमता रहेको दाबी गरिएको थियो। तर, केही दिन अघिसम्म किट हुँदा पनि दैनिक औसतमा १० देखि १५ जनाको मात्रै परीक्षण हुने गरेको थियो। अहिले त्यो पनि बन्द भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको तथ्यांक अनुसार भारतबाट सुदूरपश्चिमका नाका हुँदै एक लाख ५४ हजार भन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन्।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशमा बिहीबारसम्म १७ हजार ५ सय ३९ जनाको परीक्षण भएको जानकारी दिएको छ। जसमा आरटी–पिसिआरबाट भने २ हजार ९ सय २३ जनाको मात्रै परीक्षण भएको छ।

सुदूरपश्चिम प्रदेशमा स्वाब राख्ने भाडो भिटिएम र जनशक्तिको समेत अभाव हुँदा परीक्षण प्रभावित हुँदै आएको सामाजिक विसकास मन्त्रालयको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell