PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा ‘कन्ट्याक्ट ट्रेसिङ’ : १७ जना नयाँ संक्रमितको सम्पर्कमा आएकाको स्वाब संकलन शुरु



राधेश्याम पटेल

वीरगंजमा ‘कन्ट्याक्ट ट्रेसिङ’ : १७ जना नयाँ संक्रमितको सम्पर्कमा आएकाको स्वाब संकलन शुरु

वीरगंज : वीरगंजका १७ जना नयाँ संक्रमितहरुसँग सम्पर्कमा आएका २१ परिवारका ११८ जनाको स्वास्थ्य परीक्षण तथा थ्रोट स्वाब संकलन शुरु भएको छ। यात्रा विवरण अनुसार उनीहरुको खोजी गरेर थ्रोट स्वाब संकलन शुरु गरिएको हो।

स्वास्थ्य कार्यालय पर्सा, नारायणी अस्पताल वीरगंज र वीरगंज महानगरपालिकाका स्वास्थ्यकर्मीहरुको समन्वयमा उनीहरुको स्वाब संकलन शुरु गरिएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले बताए। उनका अनुसार बिहीवार रातभरीमा स्वाब संकलन गर्ने र शुक्रवार बिहान काठमाडौं पठाउने तयारी रहेको छ।

मालपोत चोकबाट तीन सय मिटर पश्चिम र छपकैया र छपकैया कोल्ड स्टोरेज भन्दा पूर्वको बस्तीलाई कडा रुपमा सील गरिएको छ। सुरक्षाकर्मीहरुको उपस्थिति पनि बढाइएको छ। अहिले २१ जना परिवारलाई घर बाहिर जान नदिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। अन्य १, २, ३ नम्बर वडाका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर आउजाउ नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

यसैबीच, वीरगंज महानगरपालिका–३ छपकैयामा एकै दिन एउटै परिवारका १७ जना नयाँ संक्रमित भेटिएपछि पर्साको सुरक्षा व्यवस्था कडा पारिएको छ। वीरगंज बजार क्षेत्रमा नयाँ किसिमको रणनीति अनुसार सुरक्षा अपनाइँदैछ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको सूचना अनुसार वीरगंज मनपाका वडा नम्बर १, २, ३ लाई पूर्णरुपमा चारैतिरबाट सील गरिएको छ। वीरगंजको मुख्य सडक पावरहाउसचोकदेखि घण्टाघर, माईस्थान, आदर्शनगर, छपकैया हुँदै रजतजयन्ती चोकसम्म आवतजावत गर्न सर्वसाधारणलाई निषेध गरेको छ।

निषेधित बाटोमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी मात्र आवतजावत गर्न दिइएको पर्साका सुरक्षा समितिकी सदस्य एवं प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। उनले पत्रकार सँगसँगै अन्य सर्वसाधारणलाई पैदल अथवा सवारीसाधनमा पास लिएर डुल्नेलाई समेत पनि रोक लगाइएको बताइन्।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, पर्साले गरेको सार्वजनिक सूचना अनुसार वैशाख २५ गतेसम्म जिल्ला प्रशासनबाट जारी भएको सवारी पास रद्द गरिएको र अन्य अति आवश्यक प्रयोजनको लागि गृह मन्त्रालयको वेबसाइटमा गएर आवेदन दिन सकिने बताइएको छ। तर, ईपासमा आवेदन दिने सेवाग्राहीहरुले गृह मन्त्रालयको वेभसाइटबाट प्रभावकारी सेवा नपाएको गुनासो गरेका छन्।

प्रशासनले लकडाउन र अवस्था साम्य नहुँदासम्म रजतजयन्ती चोक, छपकैया पोखरी, श्रीराम हलचोक, मालपोत चोक, पश्चिममा छपकैया बजारचोक, श्रीसिया पुल, श्रीसिया भन्सार, उत्तर एमबिएस कलेज, पानीटंकी चोक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगंज १, २ का भारतसंग जोडिएका सीमा क्षेत्रको घेराभित्रका क्षेत्रलाई चौतर्फी सील गरिएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell