PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

धुम्बाराही भेलाको निष्कर्ष सुनाउन खुमलटार पुगेका स्थायी समिति सदस्यहरुको प्रचण्डलाई दबाव, 'बैठक छिट्टै बोलाउनुस्'



कुञ्जरमणि भट्टराई

धुम्बाराही भेलाको निष्कर्ष सुनाउन खुमलटार पुगेका स्थायी समिति सदस्यहरुको प्रचण्डलाई दबाव, 'बैठक छिट्टै बोलाउनुस्'
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन्।

बिहीवारका लागि डाकिएको बैठक स्थगित भएपछि पार्टी मुख्यालय धुम्बाराहीमा छुट्टै भेला भएका प्रचण्ड - नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले बैठक डाक्न माग गरेका हुन्।

वैशाख १० गते स्थायी कमिटी बोलाउन लिखित माग गरेका सदस्यहरूले बैठक स्थगित भए पनि दिउँसो छुट्टै भेला गरेका थिए। भेलाले स्थायी कमिटी बोलाउन दबाव दिने निर्णय गरेको थियो। भेलाको निष्कर्ष सुनाउन आज साँझ स्थायी कमिटी सदस्यहरु भीम रावल, जनार्दन शर्मा, हरिबोल गजुरेललगायत  प्रचण्ड निवास खुमलटार पुगेका थिए।

प्रचण्ड भेट्न पुगेका गजुरेलले स्थायी कमिटी छिट्टै बोलाउन माग गरेको बताए।

'हामीले दिउँसो पार्टी कार्यालयमा छलफल गरेका थियौं। त्यसपछि अध्यक्ष प्रचण्डलाई भेटेर बैठक छिट्टै बोलाउन आग्रह गरेका छौं। विधानले दिएको समय पनि सकियो। विधान मिच्न पाइदैन बैठक बोलाउनुस भन्यौं। बैठकको एजेन्डाबारे पनि छलफल भयो,' उनले भने।

जवाफमा प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेर छिट्टै स्थायी कमिटि बोलाउने वचन दिएको नेता गजुरेलले सुनाए।

गत शनिबारको सचिवालय बैठकले आजका लागि स्थायी कमिटी डाकेको थियो। तर, बुधवारको सचिवालय बैठकको बीचमा नै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उठेर हिँडेपछि स्थायी कमिटीको एजेन्डा तय हुन सकेन। थप छलफलका लागि सचिवालयका सदस्यहरुले दुई अध्यक्षलाई जिम्मेवारी सुम्प्यो। र, स्थायी समिति स्थगित भयो। बैठक दुई अध्यक्षबीचको समझदारीपछि छिट्टै बोलाउने भनिएको छ।

योसँगै शनिवारको सचिवालयबाट समस्या सुल्झनेतर्फ अघि बढेको नेकपा विवाद थप चर्कने देखिएको छ।

शनिवारको बैठकमा ओलीले आत्मालोचना गर्दै एक व्यक्ति एक पदको विषय मान्न तयार भए पनि वुधवारको बैठकमा उनी मान्न तयार भएनन्। अहिले नेकपामा दुई पक्षधर एकले अर्कोलाई आरोप लगाउन थालेका छन् भने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत पार्टीलाई फुटबाट जोगाउन गुहार मागेका छन्।

बिहीवार साँझ ट्विटमा उनले लेखे, 'नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔँ, एकता र रुपान्तरणको पक्षमा उभिऔँ। आ–आफ्नो ठाउँबाट भूमिका खेलौँ, योगदान गरौँ।'

पार्टी विवादको निर्णयलाई शालीन ढंगबाट मिडियामा प्रस्तुत गर्ने प्रवक्ता श्रेष्ठको पछिल्लो ट्वीट्, ओली पक्षधरका नेताहरुको चेतावनीले पार्टीको एकतामासमेत प्रश्न उठ्न थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell