
नयाँ दिल्ली : एकै दिन ३ हजार भन्दा धेरै थपिएपछि भारतमा कोरोना संक्रमितको संख्या ५५ हजार भन्दा माथि पुगेको छ। २४ घन्टामा ३ हजार जनामा संक्रमण देखिएको लगातार दोस्रो दिन हो।
भारतमा कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा एकै दिन १२ सय जना थप संक्रमित भेटिएका छन्। दिल्लीमा पनि एकै दिन ४ सय ४८ जना नयाँ संक्रमित भेटिएका छन्। यसअघि दिल्लीमा सबैभन्दा धेरै भेटिँदा ४ सय २८ जना थिए।
महाराष्ट्रमा एकै दिन ४३ जनाको मृत्यु भएको छ। भारतभर कोरोनाका कारण एक दिनमा १ सय ६ जनाको मृत्यु भएको हो। मुम्बईमा मात्र २५ जनाको ज्यान गएको छ। अहिलेसम्म १६ हजार ६ सय मानिस उपचारपछि ठीक भएर घर फर्किएका छन् जो संक्रमितको कूल संख्याको ३० प्रतिशत हुन आउँछ।
तामिलनाडू र गुजरातमा क्रमश ५ सय ८० र ३ सय ८८ थप संक्रमित भेटिएका छन्। गुजरातमा संक्रमितको संख्या ७ हजार भन्दा माथि पुगेको छ। यहाँ २९ जनाको ज्यान गएको छ एकै दिनमा। गुजरातमा मात्र अहिलेसम्म ४ सय १५ जनाले ज्यान गुमाइसकेका छन्। महाराष्ट्रमा अहिलेसम्म ६ सय ९४ जनाको मृत्यु भइसकेको छ।
बिहारमा एक ७० वर्षीय मानिसको ज्यान गएको छ। कोरोनाका कारण बिहारमा मर्नेको संख्या ५ पुगेको छ। बिहारमा थप ८ जना संक्रमित भेटिँदा कूल संक्रमितको संख्या ५ सय ५० पुगेको छ।