PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

खुला सीमा बन्दै समस्या : मध्यरातमा चोरीछिपी नेपाल छिरेका थिए पछिल्ला संक्रमित



विधुर ढकाल

खुला सीमा बन्दै समस्या : मध्यरातमा चोरीछिपी नेपाल छिरेका थिए पछिल्ला संक्रमित

काठमाडौं : हिजो मात्र कोभिड-१९ को संक्रमण पुष्टि भएका कपिलबस्तुका दुई नेपाली चार दिन अगाडि रातीको १२ बजे नेपाल प्रवेश गरेको खुलेको छ।

उनीहरुसँगै अन्य चार जना पनि नेपाल प्रवेश गरेका थिए। कपिलबस्तुको मायादेवी गाउँपालिकाका दुई जनालाई नेपाल प्रवेश गर्नासाथ स्थानीयले क्वारेन्टाइनमा राखेका थिए।

'रातको १२ बजे नेपाल प्रवेश गरेका थिए। स्थानीयले उनीहरुलाई रोकेर तीर्थादेवी छत्रपाली उच्च माविको क्वारेन्टाइनमा राखिएको थियो,' गाउँपालिकाका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले भने, 'खुला सीमाका कारण नेपाल प्रवेश गर्नेहरुको संख्या धेरै छ।'

गाउँपालिकाभित्र तयार पारिएका चार वटा क्वारेन्टाइनमा अहिले एक सय भन्दा बढीलाई राखिएको उनले जानकारी दिए।

'संक्रमण देखिएकाहरु घरमा पुग्न पाएका थिएनन्। गाउँमा राती छिरेपछि नै उनीहरुलाई गाउँलेले रोकेर क्वारेन्टाइनमा पठाएका थिए,' उनले भने।

तीर्थादेवीको क्वारेन्टाइनमा राखिएका ६५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकोमा १३ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ देखिएको उनले जानकारी दिए। बाँकीको रिपोर्ट आउन बाँकी छ।

खुला सीमानाका कारण लकडाउनको बीचमा कति जना नेपाल प्रवेश गरे भन्ने गाउँपालिकालाई नै थाहा नभएको अध्यक्ष कुर्मीले बताए।

'बोर्डर खुला छ। झाडी छ। स्थानीय हुन्। सीमा कहाँ कस्तो छ सबै थाहा छ उनीहरुलाई,' उनले भने, 'रातीको समयमा लुकिछिपी नेपाल प्रवेश गर्छन्।'

अझै पनि सीमा क्षेत्र दशगजामा नेपाल प्रवेश गरेका १०० जनालाई रोकिएको उनले जानकारी दिए।

'उताबाट एसएसबीले लखेटेको छ। उनीहरु नेपाल प्रवेश गरेका थिए,' उनले भने, 'यता हाम्रोतिर सशस्त्र प्रहरीले उनीहरुलाई रोकेर राखेको छ। दशगजा देखि १०० मिटर वर एउटा विद्यालयमा टेन्टमा उनीहरुलाई राखेका छौं।'

'बिहीवार आएको हावाहुरीका कारण क्वारेन्टाइनमा बनाइएका टेन्टहरु भत्काएपछि उनीहरुमध्ये केही भागेका छन्। हामीले खोजिरहेका छौं,' अध्यक्ष कुर्मीले भने, 'अब नेपाल तर्फ सशस्त्र प्रहरी नै सुरक्षित छैनन्। उनीहरुका टेन्ट पनि हावा हुरीले भत्किएको छ।'

क्वारेन्टाइनमा राखिएका दुई जनामा कोरोना संक्रमण देखिएपछि बाँकी सबैको परीक्षणको तयारी भइरहेको गाउँपालिकाका सूचना अधिकारी रामचन्द्र चौधरीले जानकारी दिए।

'क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएपछि अरुको पनि परीक्षणको तयारी भइरहेको छ। गाउँपालिकाका कतिपय कर्मचारीहरु पनि क्वारेन्टाइन अनुगमनका लागि पुग्नुभएको थियो,' उनले भने, 'उहाँहरु पनि जोखिममा हुनुभयो। उहाँहरुको पनि परीक्षण गर्ने विषयमा छलफल भइरहेको छ।'

पाँच दिन अगाडि खाली भएका क्वारेन्टाइनहरु अहिले भरिन लागेको उनले जानकारी दिए।

'चार पाँच दिन अगाडि हाम्रा क्वारेन्टाइन खाली भएका थिए,' उनले भने, 'भारतका केही राज्यमा मे ३ देखि आवागमनलाई केही खुकुलो पारिदियो। त्यसपछि त्यताबाट मानिसहरु आउन थाले। भारतले खुकुलो पार्ने हामीले यता कडा पार्ने गर्दा मानिसहरु रातीराती पस्न थाले।'

उताबाट आउन खोजेका र आएकालाई खोजेर क्वारेन्टाइनमा राखिएको उनले बताए।

'हामीले फेला पारेका जतिलाई क्वारेन्टाइनमा राखेका छौं। केही चोरीचकारी घर पुगेका पनि होलान्। घर पुगेकालाई पनि हामीले थाहा पाएसम्म खोजेर ल्याएका छौं,' चौधरीले भने।

मायादेवी गाउँपालिका भारतीय बजार पिप्रहवादेखि नजिक छ। यहाँको सीमा नाका चाकरचौडाबाट नेपालीहरु प्रवेश गर्दै आएका छन्। गाउँपालिकाको भारतसँग करिब १५ किलोमिटर खुला सीमाना जोडिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell