PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

दुई संक्रमित दाजुभाइ जसको परिवारका पाँच जना मुम्बईबाट सँगै आएका थिए नेपाल



विधुर ढकाल

दुई संक्रमित दाजुभाइ जसको परिवारका पाँच जना मुम्बईबाट सँगै आएका थिए नेपाल
संक्रमितलाई अस्पता लगिँदै। चन्द्र कुमारको फेसबुकबाट

काठमाडौं : भारतमा कोरोनाको इपिसेन्टर मानिएको मुम्बईबाट आएकामध्ये दुई नेपालीमा बिहीवार कोरोना संक्रमण देखिएसँगै कपिलबस्तुमा त्रास फैलिएको छ। हिजोमात्र कोभिड-१९ को संक्रमण पुष्टि भएका उनीहरु चार दिन अघि रातारात गरेर नेपाल छिरेका थिए।

मायादेवी गाउँपालिका वडा नं २ का एकै परिवारका पाँच जना नेपाल आएका थिए, तीमध्ये दुई जनामा संक्रमण देखिएको गाउँपालिकाका सूचना अधिकारी रामचन्द्र चौधरीले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाका तीन वटा क्वारेन्टाइनमध्ये दुई क्वारेन्टाइनका ६५ जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। जसमध्ये १३ जनाको रिपोर्ट आएकोमा दुई जनामा दाजुभाइमा संक्रमण देखिएको चौधरीले जानकारी दिए।

'हिजो बिहीवार १३ जनाको रिपोर्ट आयो जसमध्ये दुई जना संक्रमित देखिए,' उनले पहिलोपोस्टसँग भने, 'बाँकीको आज रिपोर्ट आउला। उनीहरुसँग आएका उनको परिवारका सदस्यहरुको पनि रिपोर्ट आउन बाँकी छ।।'

'क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएपछि अरुको पनि परीक्षणको तयारी भइरहेको छ। गाउँपालिकाका कतिपय कर्मचारीहरु पनि क्वारेन्टाइन अनुगमनका लागि पुग्नुभएको थियो,' उनले भने, 'उहाँहरु पनि जोखिममा हुनुभयो। उहाँहरुको पनि परीक्षण गर्ने विषयमा छलफल भइरहेको छ।'

गाउँपालिकामा १९ गते शुक्रवार देखि मानिसहरु राख्न थालिएको छ।

'हाम्रा क्वारेन्टाइन खाली भएका थिए,' उनले भने, 'भारतका केही राज्यमा मे ३ देखि आवागमनलाई केही खुकुलो पारिदियो। त्यसपछि त्यताबाट मानिसहरु आउन थाले। भारतले खुकुलो पार्ने हामीले यता कडा पार्ने गर्दा मानिसहरु रातिराती पस्न थाले।'

उताबाट आउन खोजेका र आएकालाई खोजेर क्वारेन्टाइनमा राखिएको उनले बताए।

'हामीले फेला पारेका जतिलाई क्वारेन्टाइनमा राखेका छौं। केही चोरीचकारीले घर पुगेका पनि होलान्। घर पुगेकालाई पनि हामीले थाहा पाएसम्म खोजेर ल्याएका छौं,' चौधरीले भने। संक्रमित दुई जनालाई आजै बुटवल स्थित धागो कारखानामा लुम्विनी प्रादेशिक अस्पतालले निर्माण गरेको कोरोना विशेष अस्पतालमा पठाइएको उनले जानकारी दिए।

मायादेवी गाउँपालिका भारतीय बजार पिप्रहवा देखि नजिक छ। यहाँको सीमा नाका चाकरचौडाबाट नेपालीहरु नेपाल प्रवेश गर्दै आएका छन्। गाउँपालिका भारतसँग करिब १५ किलोमिटर खुला सीमानाले जोडिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell