PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बालुवाटारमा ओली र प्रचण्डको भेट : संसदीय दलको बैठक पनि बसाउन तयार छैनन् प्रधानमन्त्री



प्रकाश भण्डारी

बालुवाटारमा ओली र प्रचण्डको भेट : संसदीय दलको बैठक पनि बसाउन तयार छैनन् प्रधानमन्त्री

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

दुई अध्यक्षबीच संसदीय दलको बैठकको विषयमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।

तत्कालीन परिस्थितिमा संसदीय दलको बैठक बस्न नसक्ने ओलीले प्रचण्डलाई बताएका छन्।

'संसदीय दलमा अब के गर्ने भन्ने विषयमा छलफल भयो। तत्कालिन परिस्थितिमा बैठक बस्न सक्दैन भन्ने हामीले कुरा राख्यौं,' नेम्वाङले भने।

भेटमा स्थायी कमिटीको बैठकका विषयमा पनि छलफल भएको थियो। दुवै अध्यक्षको सहमतिमा बैठक बोलाउने सल्लाह भएको नेम्वाङले जानकारी दिए।

बालुवाटारमा भएको छलफलमा नेकपाको प्रतिनिधिसभाका प्रमुख सचेतक देव गरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभा संसदीय दलका नेता दीननाथ शर्मा, पार्टी महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी थिए।

ओलीले संसदीय दलको बैठक अहिले तत्कालै बस्न नसक्ने अडान लिँदा प्रचण्डले भने कुनै प्रतिक्रिया जनाएका थिएनन्।

प्रचण्डसँगको भेट अघि ओलीले आफू निकटका नेताहरुलाई छुट्टै भेटेका थिए।

शुक्रवार बिहान बालुवाटारमा बोलाएर संसदीय दलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका नेताहरुसँग ओलीले छलफल गरेका हुन्।

सरकारको नीति तथा कार्यक्रम र संसदीय दलको रणनीति बोलाउने विषयमा छलफल भएको बालुवाटार पुगेका ओली निकट नेताले बताए।

अध्युक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले स्थायी कमिटी बैठक बोलाउन दबाब बढाइरहेका बेला ओलीले छलफल तीब्र पारेका हुन्।

बिहीवारमात्रै असन्तुष्ट स्थायी समिति सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर प्रचण्डलाई भेटन पुगेका थिए।

स्थायी समिति बैठक नबोलाई प्रधानमन्त्रीले नीति तथा कार्यक्रम ल्याए अस्वीकार गर्ने असन्तुष्ट नेताहरुले चेतावनी दिएका छन्। शुक्रवारदेखि संसदमा बजेट अधिवेशन सुरु हुँदैछ।

संसदीय दलमा आफ्नो बहुमत स्थापित गर्न प्रधानमन्त्री ओलीले केही अघि सांसदहरुको हस्ताक्षर संकलन समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell