
पाकिस्तानमा विहीवार मात्र १ हजार ५ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखियो। सोही दिन संक्रमणकै कारण ३८ जना मरे। यो दैनिक संक्रमित र मृत्युदर पाकिस्तानमा हालसम्मकै उच्च हो।
जोन होप्किन्स विश्व विद्यालयका अनुसार त्यहाँ हालसम्म २४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ र ५ सय ६४ जनाको मृत्यु भइसकेको छ।
संक्रमित र मृतकको संख्या बढ्दै गएपनि पाकिस्तान लकडाउन खुकुलो बनाउने तयारीमा छ। त्यहाँको सार्वजनिक स्थल, मस्जिद, बजार लगायतमा लागू भएको लकडाउन शनिबारदेखि चरणवद्ध रुपमा खुला गर्दै लैजाने प्रधानमन्त्री इमरान खानले बताएका थिए।
'हामीले लकडाउन खुला गर्ने निर्णय गरेका छौं', खानले टिभीमार्फत् भने,'हामीलाई थाहा छ देशमा संक्रमितको संख्या बढ्दै गर्दा यस्तो निर्णय लिँदै छौं। तर सोचेजसरी बढ्दैन।'
सुरुमा इमरान खानले पाकिस्तान लकडाउन नगर्ने बताएका थिए। भनेका थिए,'म करोडौं जनतालाई थुनेर राख्ने निर्णय गर्न सक्दिँन।'
तर संक्रमितको संख्या ह्वात्तै बढेपछि मार्चको अन्त्यदेखि लकडाउन घोषणा गरे। केही दिन कडाइ गरेपनि बीचदेखि नै विभिन्न स्थान खुला गर्दै आइएको थियो। निर्माण कार्य पुन: सुरु गरिएको थियो।
प्रधानमन्त्री खानले चरणवद्ध रुपमा लकडाउन खोल्ने बताए। आम मानिसलाई सुरक्षित रहन समेत आग्रह गरेका छन्।
त्यहाँका विज्ञहरु भने कमजोर जन स्वास्थ्य सेवालाई लिएर चिन्तित रहेको बीबीसीमा जनाइएको छ।
रोयटर्ससँगको कुराकानीमा डाक्टर सलमान काजमीले भने,'लकडाउन खुकुलो गर्ना साथ संक्रमित बढ्ने निश्चित छ। त्यसपछि अस्पतालमा आउने क्रिटिकल केसलाई लिएर चिन्तित छौं।'