PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

संसद प्रवेशका लागि स्वाबको रिपोर्ट अनिवार्य : बैठकका लागि यस्तो छ तयारी



कुञ्जरमणि भट्टराई

संसद प्रवेशका लागि स्वाबको रिपोर्ट अनिवार्य : बैठकका लागि यस्तो छ तयारी

काठमाडौं : ४६ दिनदेखि जारी लकडाउनकाबीच आजबाट संसदको बजेट अधिवेशन सुरु हुँदैछ। बेलुकी ४ बजे बस्ने बैठकका लागि स्वास्थ्य सतर्कता सहित तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर संसद सुरु गर्न लागिएको संसदका सचिव गोपालनाथ योगीले जानकारी दिए। संसदमा प्रवेशका लागि बिहीवार २ सय १२ सांसद सहित ४ सय ४१ जनाको घाँटीको स्वाब परीक्षण गर्न पठाइएको छ। बाँकी रहेकाहरुको शुक्रवार बिहानबाटै परीक्षण थालिएको छ। हालसम्म २ सय ६८ जनाको स्वाब संकलन गरिएको योगीले बताए। १० बजेसम्म परीक्षण गरिएका सांसद र कर्मचारीहरुले मात्रै आज संसदमा प्रवेश पाउनेछन्।

संसद प्रवेशका लागि स्वाबको रिपोर्ट आएको हुनुपर्नेछ। मास्क अनिवार्य लगाउनुपर्ने छ। संसद छिर्दा अनिवार्य रुपमा हात धुनुपर्नेछ। त्यस्तै ज्वरोको परीक्षण हुनेछ। ज्वरो परीक्षणपछि स्यानिटाइजरको प्रयोग गरी भित्र पस्ने व्यवस्था संसद सचिवालयले मिलाएको छ।

बैठक कक्षको पहिलो र दोस्रो लाइनको १२ सिट प्रधानमन्त्रीका लागि सुरक्षित गरिएको छ। केही समयअघि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीमा संक्रमणको जोखिम रहेको भन्दै निजी चिकित्सकको परामर्शपछि दुई लाइन प्रधानमन्त्रीका लागि सुरक्षित गरिएको हो।

पहिले एक लाइनमात्र छाड्ने भने पनि स्वास्थ्यकर्मीको टोलीको परामर्शपछि प्रधानमन्त्रीका लागि १२ सिट छुट्याइएको हो।

यस्तै, अन्य सांसदहरुका लागि दुई सिटको अन्तरमा बस्ने व्यवस्था गरिएको छ।सचिव योगीका अनुसार सांसदहरुले बैठकमा जुन कुर्सीमा बस्छन् त्यस दिनको बैठकभर त्यही कुर्सीमा बस्नुपर्नेछ।

'सांसदहरुका लागि पनि पहिले एक सिटको अन्तरमा बस्ने व्यवस्था गरिएको थियो। तर स्वास्थ्य टोलीको परामर्श र डब्लुएचओको मापदण्ड पूरा गर्न दुई सिटको अन्तर गरिएको हो। सांसदहरुले जुन कुर्सीमा बस्नुहुन्छ त्यो दिनको बैठकभर त्यही कुर्सीमा बस्नुपर्नेछ,' उनले भने

बैठक कक्षमा स्थान अभाव हुने भएकाले दर्शकदीर्घालाई पनि कक्षकै रुपमा प्रयोग गरिएको छ। यसर्थ दर्शक र पत्रकारले संसदमा प्रवेश पाउने छैनन्।

सचिवालयले विज्ञसँगको परामर्शका आधारमा संसद् भवनको सेन्ट्रल एसी बन्द गर्ने भएको छ। स्वास्थ्य सेवा विभागको प्रतिवेदनले सेन्ट्रल एसीबाट कोरोना जोखिम रहेको भन्दै बन्द गर्ने निर्णय भएको हो।

यस्तो छ आजको कार्यसूची

शुक्रवार बस्ने पहिलो बैठकमा राष्ट्रपतिबाट प्रेसित पत्र बाचन हुनेछ। यस्तै, दुवै सदनमा केही नेपाल ऐनका साविकका व्यवस्था जगाउने अध्यादेश पनि पेश हुनेछ।

अधिवेशन प्रारम्भ भएको अवसरमा दलका नेताहरुबाट शुभकामना दिने सम्भावित कार्यसूची पनि दुवै सदनले तय गरेका छन्।

यस्तै, पूर्व सभासद विश्वनाथ अग्रवालको निधनमा शोक प्रस्ताव पनि पारित हुनेछ।

यस्तै सचिवालयले वैशाख २८ गतेबाट प्रि-बजेट छलफलको तयारी गरेको छ।प्रि-बजेटपछि जेठ २ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी सचिवालयले गरेको छ। संवैधानिक प्रावधान अनुसार जेठ १५ गते भने बजेट पेश हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell