PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

महिला खेलाडीहरुको प्रश्न : जब पतिले खराब खेल्छन् दोष किन पत्नीलाई?



पहिलोपोस्ट

महिला खेलाडीहरुको प्रश्न : जब पतिले खराब खेल्छन् दोष किन पत्नीलाई?

केही दिनअघि इएसपिएन क्रिक इन्फोले एल्सा हेलेको फाइनल खेल हेर्न उनका पति मिसेल स्टार्क गएको तस्बिर 'कपल्स गोल' क्याप्सन राखेर ट्वीट गर्‍यो। टी २० महिला विश्वकप फाइनल खेल हेर्न चर्चित क्रिकेटर स्टार्क पुगेका थिए। उक्त तस्बिरले निकै चर्चा कमायो विशेष गरी भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबिच।

यदि भारतमा यस्तो हुने हो भने के हुन्थ्यो ? मानिसहरु फोटो सेयर गर्दै वहसमा उत्रिए। अधिकांशले यसमा सकारात्मक प्रतिक्रिया दिए। केहीले भने श्रीमतीको पछिपछि गएकाले स्टार्कलाई 'जोइटिङ्ग्रे'को तक्मा दिए।

त्यसपछि उक्त फोटो आम मानिसका लागि मात्र वहसको विषय रहेन। चर्चित महिला खेलाडीहरुले पनि बोले।

चर्चित भारतीय टेनिस खेलाडी सानिया मिर्जालले उक्त प्रतिकृयाहरुलाई लक्षित गर्दै आपत्ती जनाइन्। बुधबार उनले सामाजिक सञ्जालमार्फत् नै जवाफ दिइन् – 'यदि भारतीय खेल क्षेत्रमा कसैले यस्तो गर्ने हो मानिसहरु उसको उपनाम राख्न पछि पर्दैनन्।'

मिर्जाको तर्कमा समर्थन जनाउँदै पाकिस्तानी क्रिकेटर ऐमिन अनवरले लेखिन् – 'यो यसरीनै चलिरहेको छ।'

 

भारतीय क्रिकेट टिमकी उपकप्तान स्मृति मन्धना र बलर जेमिमा रोड्रिगेजले भिडियोमार्फत् आफ्नो तर्क राखे। उनीहरुको आपत्ती महिलालाई समाजको ध्यान भट्काउने पात्रको रुपमा स्थापित गरिनु रहेछ।

'महिलाहरुलाई समाजको ध्यान भड्काउने पात्रका रुपमा हेरिन्छ। यसमा मलाई धेरै पटक जोडिसकिएको छ र अनुस्कालाई पनि', भिडियोमा उनीहरुले भनेका छन्, 'जब कुनै पुरुष खेलाडीले राम्रो प्रदर्शन गर्छन् त्यो उनीहरुको कारणले हुन्छ र जब खराब प्रदर्शन गर्छन् त्यसलाई हाम्रो कारण मानिन्छ। मैले बुझ्न सकेकी छैन यो कसरी हुन्छ?'

मन्थनाले भनेजस्तो भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का ट्रोलको सिकार हुने गरेका छन्। समर्थकहरुले अनुष्का स्टेडियममा आएकै कारण कोहलीले राम्रो प्रस्तुति दिन नसकेको जनाउँदै ट्रोल बनाउने गरेका छन्।

अन्य खेलाडीको दम्पतीको अवस्था पनि फरक छैन। क्रिकेट बाहेक अन्य खेलमा सक्रियहरुको हकमा पनि खेलाडीहरु सामाजिक सञ्‍जालमा छाउने ट्रोल र व्यङ्ग्यको सिकार बन्ने गरेका छन्।

सन् २०१८ को विश्वकप फुटबलमा पोर्चुगल उरुग्वेसँग पराजित भयो। त्यस समय पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड जियोर्जिना रोड्रिगेजलाई लक्षित गरेर समर्थकहरुले ट्रोल गरेका थिए। मानौं कि उनकै कारणले पोर्चुगल पराजित भएको थियो।

त्यस्तै २०१८ कै विश्वकपका क्रममा मेस्सीलाई म्याच शुरु नहुँदै चियर गरेको भन्दै उनकी पत्नीलाई इस्टाग्राममा ट्रोल गरिएको थियो।

मन्थनाले यस विषयमा छलफल गर्दै गर्दा धेरैले रमाइलो मानेका छन्। मनोरञ्जनका लागि गरिए सुरुवातजस्तो देखिए पनि धेरै गम्भीर विषय रहेको उनको तर्क छ।

'यो कुनै रमाइलोका लागि मात्र उठाइएको विषय होइन। यो मुद्दा निकै गहिरो छ। यो यस्तो सांस्कृतिक मुद्दा हो जसलाई बीना कारण सामना गर्नु पर्नेहरु धेरै छन्' भिडियोमार्फत् उनीहरुले भनेका छन्, 'कसैको पत्नी या गर्लफ्रेन्ड दर्शकदीर्घामा हुनु धेरैका लागि समस्या बन्छ। किनकि मानिसहरु सोच्छन् उनीहरु त्यहाँ नभइ खाना बनाइरहेको हुनुपर्थ्यो।'

उनीहरुले आम मानिसको व्यङ्ग्यको जस्तो पनि अर्थ निकाल्न सकिने बताएका छन्।

स्टार्कको हकमा उनको विश्वकप हेर्न जाँदाको उक्त फोटोमा धेरैले समर्थन जनाएपनि भारतीय खेलाडी भएको अवस्थामा भने तिनै समर्थकको तर्क उल्टिने मिर्जाको दावी छ। ट्वीटमा लेखेकी छिन् :

'यो कुरा पक्का हो - यदि भगवानको कृपाले यी कुनै भारतीय उपमहाद्वीपका खेलाडी हुन्थे भने उनीहरुलाई 'कपल गोल' नभइ 'जोइटिङग्रे'को ट्याग दिन एक सेकेन्ड पनि पर्खने थिएनन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell