PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउनमा सवारीको तीब्र गति, एकै झड्कामा जीवनको क्षति : गाडी निषेध हुँदा ८ जनाले गुमाए ज्यान



पहिलोपोस्ट

लकडाउनमा सवारीको तीब्र गति, एकै झड्कामा जीवनको क्षति : गाडी निषेध हुँदा ८ जनाले गुमाए ज्यान

काठमाडौं : शुक्रवार बिहान सवा ७ बजे रविभवन लामपाटी नजिकै सडक दुर्घटना भयो। कलीमाटीबाट कलंकीतर्फ गइरहेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र कलंकीबाट कालीमाटीतिर गइरहेको बा २१ च ४३४७ कार एकआपसमा ठोकिए।

तीब्र गतिमा रहेका दुईवटा साधन ठोक्किँदा मोटरसाइकल चालक मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलाल गम्भीर घाइते भए। उनलाई तत्काल अपस्पताल पुर्‍याइयो। तर, चिकित्सकले उनलाई बचाउन सकेनन्। बिहान साढे ८ बजे अस्पतालले उनलाई मृत घोषणा गर्‍यो।

प्रहरीले कलंकी स्युचटारका ३९ वर्षीय कर्णेल शिखर जबरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। आर्मी हेडक्वाटरमा कार्यरत जबराको गाडी र मोटरसाइकल तीब्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कालीमाटीबाट मासु लिएर फर्किदै गर्दा दुर्घटना भएको थियो। लकडाउनमा अत्यावश्यक सवारी साधन मात्र संचालनमा आएका छन्। दुर्घटना भएका दुवै सवारी अत्यावश्यक अन्तर्गत नै पर्छन्।

लकडाउनको अवधिमा सवारी संख्या कम भएकाले दुर्घटना पनि कम भएको छ। तर चलेका सवारी तीब्र गतिमा हुँदा दुर्घटना पनि आज बिहानको जस्तै डरलाग्दोखाले हुने गरेका छन्।। 'लकडाउनमा भएका दुर्घटना तीब्र गतिबाट मात्र भएको देखिन्छ। मानिस र सवारी कम हुँदा चलेका सवारीको गति तीब्र छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले भने।

लकडाउनमा ज्यान लिनेगरी दुर्घटना

गत वैशाख २ गते बालाजु क्षेत्रमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा काभ्रे घर भएका ५० वर्षीय विष्णुप्रसाद चौलागाईको मृत्यु भयो। प्रहरीको अनुसन्धानले तीब्र गति नै दुर्घटनाको कारण भएको निष्कर्ष निकाल्यो।

लकडाउनको समय अन्य सवारी दुर्घटना पनि भए। उपत्यकाभित्र लकडाउन सुरु भएदेखि अहिलेसम्म २ सय १२ वटा सवारी दुर्घटना भएका छन्। जसमा ८ जनाले ज्यान गुमाउनु परेको छ। ७ जना गम्भीर घाइते भएका छन्। १ सय ३८ जना दुर्घटनामा परी सामान्य घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell