PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सगरमाथाको उचाइ लिन चिनियाँ टोली शिखरतिर

सगरमाथाको उचाइ लिन चिनियाँ टोली शिखरतिर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चीनले सगरमाथाको उचाइ नाप्नका लागि सर्भे गर्ने टोली शिखरतर्फ पठाएको छ। बुधवार ३० जनाको टोली उत्तरी मोहोडाबाट सगरमाथाको चुचुरोतिर लागेका हुन्। बुधवार त्यहाँको बेस क्याम्पबाट टोली शिखरतर्फ लागेको चाइना डेलीले जनाएको छ।

यस अभियानमा चीनको प्राकृतिक स्रोत मन्त्रालय, विदेश मन्त्रालय, खेलकुद सामान्य प्रशासन र स्वाशासित क्षेत्र तिब्बत सरकारको संयुक्त सहभागिता छ।

त्यहाँको खेलकुद प्रशासनका पर्वातारोहण व्यवस्थापन केन्द्रका उपप्रमुख वाङ योङफङका अनुसार टोलीमा प्राकृतिक स्रोत मन्त्रालयको पहिलो जियोडेटिकसर्भेइङ ब्रिगेड र चाइना पर्वतारोही समूह गरी दुई टोली छन्।

सर्भेयर टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसिभर, गुरुत्वाकर्षण मापनका लागि ग्राभिमिटर, स्नो डेफ्थ राडर र मेट्रोलोजिकल मेजरिङ इन्स्ट्रुमेन्टको प्रयोग गरी चोमोलङमा (सगरमाथा)को उचाइको पुन: मापन गर्ने छन्।

यो सर्भेमा बेइतोउ-३ नेभिगेसन स्याटेलाइट सिस्टमको प्रयोग गरिने छ। त्यस्तै एयरबर्न ग्राभिमिटर र थ्री डी इन्ट्र्याक्टिभ भर्चुअल रियालीटीको प्रयोग हुनेछ।

अभियान सफल पार्नका लागि पूर्ण रुपमा तयारी भइरहेको र योजना अनुरुप काम सम्पन्न हुने सर्भेइङ ब्रिगेडका प्रमुख ली क्वोफङले बताएका छन्।

यसका लागि तिब्बतको मेट्रोलोजिकल व्युरोले महत्त्वपूर्ण भूमिका खेलेको र टोलीले उपर्युक्त समयमा शिखर चुम्ने जनाइएको छ।

मेट्रोलोजिकल ब्यूरोले मार्चदेखि नै यस अभियानमा काम गरिरहेको थियो।

२० घण्टाको अवधिमा मेट्रोलोजिकल टोलीले वेदर भ्यालुएसन राख्ने र यसले हरेक दुई/दुई घण्टामा मौसम, तपाक्रम, वायुमन्डलको प्रेसर संकलन गरिने छ।

मेट्रोलोजिकल व्यूरोले यस अभियान भरी त्यहाँको मौसम परिवर्तनलाई निगरानी राख्ने छ। ब्यूरोले आरोहीहरुलाई मौसम सम्बन्धी भरपर्दो जानकारी समयमै जानकारी गराउने छ।

यसवर्ष चीनबाट फैलिएको कोरोना भाइरसको कारण सगरमाथा आरोहणमा प्रतिबन्ध लगाइएको छ। यसै वर्ष तिब्बतमा उत्तरी मोहडाबाट पहिलो सगरमाथा आरोहणको ७० औं वर्षगाठ मनाइँदै छ र चीनले सगरमाथाको उचाइ नापेको ४५ वर्ष पुग्दै छ।

पछिल्ला केही दशकमा चीनले सगरमाथाको उचाइ मापनका लागि ६ वटा ठूला सर्भे गरिसकेको छ।

चीनको पर्वतारोही टोलीले पहिलोपटक सन् १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव १३ मिटर मापन गरेको थियो। त्यस्तै सन् २००५ मा ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर मापन गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell