PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेपालगञ्जका १३६ जनाको रिपोर्ट आउँदै, थप परीक्षणका लागि किट सक्कियो



कमलराज भट्ट

नेपालगञ्जका १३६ जनाको रिपोर्ट आउँदै, थप परीक्षणका लागि किट सक्कियो

काठमाडौं : बाँकेमा कोरोना भाइरसबाट संक्रमितको सम्पर्कमा आएका थप १ सय ३६ जनाको पीसीआर परीक्षण रिपोर्ट आज सार्वजनिक हुने भएको छ।

बुधवार संकलन गरिएका १ सय ३६ जनाको स्वाब परीक्षणको नतिजा आज सार्वजनिक हुने भेरी अस्पतालले जनाएको छ।

‘ल्याबमा परीक्षण सकिँदैछ। आज साँझसम्म नतिजा सार्वजनिक होला,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश थापाले भने।

थापाका अनुसार यी सबै २३ जना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु हुन्।

बुधवारमात्रै संक्रमितको सम्पर्कमा आएका ५६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। उनीहरुको मंगलवार स्वाब संकलन गरेर ल्याबमा पठाइएको थियो।

बिहीवार पनि संक्रमितको सम्पर्कमा रहेका ४८ जनाको स्वाब संकलन गरिएको डाक्टर थापाले बताए।

‘उनीहरुको पनि परीक्षण सुरु भइसकेको छ,' डाक्टर थापाले भने, ‘यसको रिपोर्ट आउन समय लाग्छ।' उनका अनुसार ल्याबमा १ सय ८४ जनाको स्वाब परीक्षण भइरहेको छ।

गत शुक्रवार बाँकेमा पहिलो पटक नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ८ मा रहेको इस्लामिया फैजुल उलम मदरसाका ६० वर्षीय शिक्षकलाई कोरोनाको संक्रमण देखिएको थियो।

उनको सम्पर्कमा आएका १ सय ५ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा ७ र ९ वर्षीया बालिकासहित थप २२ जनामा संक्रमण देखिएको थियो। उनीहरु सबै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

थप परीक्षणका लागि किट अभाव

बाँकेमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षण गर्नुपर्ने भए पनि किटको अभाव देखिएको छ। भेरी अस्तापलका मेडिकल सुपरिटेन्डेन्ट डा थापाले संकलित स्वाबको परीक्षणका लागि किटको अभाव भएको बताए। ‘स्याम्पल लिएर राख्नुमात्रै भएन। परीक्षणका लागि पीसीआरको किटको अभाव छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले पठाउने भनेको छ। आज साँझसम्म आइपुग्ला कि?’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बिहीवारको नियमित प्रेस ब्रिफिङमा नेपालगञ्जमा एक हजार पीसीआर किटसहित स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको टोली परिचालन गरिने बताएका थिए। 'स्वास्थ्य सामग्री र जनशक्ति पठाउने काम इपिडिमियोलोजी महाशाखाबाट हुन्छ,' उनले भनेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर वासुदेव पाण्डेले आवश्यक स्वास्थ्य सामग्रीमा व्यवस्थापन विभागले समन्वय गरिरहेको बताए। उनका अनुसार स्वास्थ्य मन्त्रालय, प्रदेशको स्वास्थ्य निर्देशनालयबाट जनशक्ति खटिएका छन्।

भेरी अस्पतालका डाक्टर थापाले केन्द्रको टोली र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ तथा संक्रमण कहाँबाट फैलियो भन्ने अध्ययन भइरहेको बताए। संक्रमित २३ जनाको कन्ट्याक्ट ट्रेसिङको काम चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell