
कोरोना भाइरस विरुद्धको भ्याक्सिन पहिलोपटक बाँदरमा सफल रुपमा परीक्षण भएको छ। चीनले तयार पारेको भ्याक्सिन बाँदरलाई कोरोना भाइरसबाट जोगाउन सफल देखिएको ग्लोबल टाइम्सले जनाएको छ। यस सम्बन्धी रिपोर्ट मे ६ मा साइन्स म्यागेजिनमा प्रकाशित भएको हो। यो कोरोना भाइरसको उपचारका लागि जनावरमा परीक्षण गरिएको पहिलो क्यान्डिडेट हो।
रिपोर्ट अनुसार अनुसन्धानकर्ताले ११ संक्रमितका ११ भाइरसलाई आइसोलेट गरेका थिए। जसमध्ये चीनबाट पाँच, इटालीबाट तीन, स्वीट्जरल्याण्ड, युके र स्पेनबाट एक एक संक्रमितको भाइरस संकलन गरी आइसोलेट गरिएको रिपोर्टमा उल्लेख छ।
जनावरमा गरिएको ट्रायलले प्युरिफाइड इनएक्टिभिटेड कोभिड-१९ भ्याक्सिन क्यान्डिडेट (पीकोभ्याक)ले कोरोना भाइरसलाई निष्क्रिय पार्ने एन्टिबडीलाई मुसा, बिरालो तथा गैर मानव प्रजातिमा बढाउने देखाएको छ।
यी एन्टीबडीले कोरोना भाइरस स्ट्रेनका १० प्रतिनिधिहरुलाई निष्कृय पारेका छन्। जुन विश्वभर फैलिएको कोरोना भाइरसका फरकफरक टाइपलाई निष्कृय पार्नसक्ने सूचकको रुपमा यसलाई लिइएको छ।
अनुसन्धानकर्ताहरुले आठ वटा अफ्रिकी लंगुरमा भ्याक्सिनका दुई फरक फरक डोज दिएका थिए। तीन सातापछि बाँदरको फोक्सोमा कोरोना भाइरसको संक्रमण देखिएको थियो जुन पूर्ण रुपमा विकसित भइसकेको थिएन।
लंगुरमा गरिएको विश्लेषणले भ्याक्सिनको क्यान्डिडेट सुरक्षित रहेको र तथ्यांकले मानवका लागि तीब्र रुपमा भ्याक्सिन तयार गर्न सहयोग पुर्याउने बताइएको छ।
पीकोभ्याक र अन्य कोभिड-१९ भ्याक्सिनका क्यान्डिटेडहरुको क्लिनिकल ट्राइल यसै वर्ष हुने रिपोर्टमा उल्लेख छ।
सिनो भ्याक बायोटेकका लागि इन्स्टिच्युट अफ ल्याब्रोटरी एनिमल साइन्स निर्देशक चाइनिज एकेडेमी अफ मेडिकल साइनस र पेकिङ युनियन मेडिकल कलेजका सदस्य छिन चुनले तीन सदस्यीय अनुसन्धान टोलीको नेतृत्व गरेका हुन्।