PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आफ्नै नेताबाट नीति तथा कार्यक्रम जोगाउन सरकारलाई सकस : सांसदलाई दायाँबायाँ नगर्न प्रमको पत्राचार



प्रकाश भण्डारी

आफ्नै नेताबाट नीति तथा कार्यक्रम जोगाउन सरकारलाई सकस : सांसदलाई दायाँबायाँ नगर्न प्रमको पत्राचार

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई संसदमा सरकारका पक्षमा उभिन पत्राचार गरेका छन्।

संसदीय दलको बैठक डाक्न ठाउँ अभाव भएकाले सरकारको पक्षमा एकवद्ध हुन उनले पत्र नै पठाएका हुन्। नेकपा भित्र स्थायी कमिटी बैठक बोलाउने विषय विवादमा रहेका बेला सरकारको नीति तथा कार्यक्रममाथि नै सत्तारुढ दलका सांसदलाई निर्देशन दिएका हुन्।

'संसदका दुवै सदनका बैठकहरु छोटो छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रव दलको एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नु नै भएको छ। अन्य साना भेटघाट, छलफल औचित्य, आवश्यकता र सम्भावना हेरी आयोजना गरिने नै छ,' संसदमा सरकारमाथि हुनसक्ने आलोचना रोक्न सांसदहरुलाई गरिएको पत्राचारमा लेखिएको छ - 

'विगतमा जस्तै यस संसद अधिवेशनमा पनि सक्रिय समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न म नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका सबै माननीयज्यूहरुमा अनुरोधका साथ निर्देश गर्दछु।'

संसदमा आफू इतरका नेताहरुले सरकारको विरोध गर्दै नीति तथा कार्यक्रमको आलोचना गर्ने थाहा पाएपछि ओलीको यस्तो निर्देशन आएको हो।

प्रतिनिधिसभाका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रम ओलीले निर्देशन दिएको जानकारि दिए।

'उहाँले सरकारको नीति तथा कार्यक्रमको पक्षमा उभिन निर्देशन दिनु भएको हो। संसदीय दलको नेताका हिसाबमा उहाँले निर्देशन दिनु स्वभाविक हो,' उनले भने।

संसदमा सरकारको बचाउ गर्न सांसदहरुलाई निर्देशन दिएको गुरुङको भनाई थियो। ओलीले कोरोनाका कारण तत्काल संसदीय दलको बैठक नबस्ने अडान राखेका थिए।

बालुवाटारमा आज बिहान भएको छलफलमा सहभागी भएका संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले तत्कालीन परिस्थितिमा बैठक बस्न नसक्ने निष्कर्ष निकालेको बताए।

'अहिले बैठक बस्न ठाँउ पुग्दैन। त्यो भएकाले बैठक नबसौं भन्ने कुरा भयो। हामीहरुले बैठक बस्न सक्दैन भनेका हौं अध्यक्षहरुलाई,' उनले भने।

तर, सचेतक गुरुङले ठाउँ पुगेसम्म संसदीय दलको बैठक बस्नुपर्ने आफ्नो माग रहेको सुनाए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले तत्काल स्थायी कमिटी बोलाउन माग गरे पनि ओलीले अस्वीकार गरेपछि नेकपा भित्रको विवादले नयाँ मोड लिएको छ।

असन्तुष्ट खेमाका नेताहरुले स्थायी कमिटी नबोलाई नीति तथा कार्यक्रम ल्याए संसदमा त्यसको प्रतिवाद गर्ने चेतावनी दिएपछि ओलीले यस्तो लिखित निर्देशन दिएका हुन्।

उनको निर्देशनमा कोरोना भाइरसका कारण अहिले संसदीय दलको बैठक बस्न नसक्ने उल्लेख छ।

आजै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको भएको थियो।

दुई अध्यक्षबीच संसदीय दलको बैठकको विषयमा छलफल भएको थियो।

तत्कालीन परिस्थितिमा संसदीय दलको बैठक बस्न नसक्ने ओलीले प्रचण्डलाई बताएका थिए।

भेटमा स्थायी कमिटीको बैठकका विषयमा पनि छलफल भएको थियो। दुवै अध्यक्षको सहमतिमा बैठक बोलाउने सल्लाह भएको नेम्वाङले जानकारी दिए।

संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। सरकारको नीति तथा कार्यक्रम जेठ दुई गते संसदमा प्रस्तुत गर्ने कार्यतालीका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell