PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

टेकुबाट बालुवाटार पुगेर चिकित्सकहरुले लिए प्रधानमन्त्री ओलीको थ्रोट स्वाब, संसदमा विशेष व्यवस्था



पहिलोपोस्ट

टेकुबाट बालुवाटार पुगेर चिकित्सकहरुले लिए प्रधानमन्त्री ओलीको थ्रोट स्वाब, संसदमा विशेष व्यवस्था

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको थ्रोट स्वाब संकलन भए पनि रिपोर्ट आइसकेको छैन। आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट गएका चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वाब संकलन गरेको थियो।

बालुवाटार पुगेर चिकित्सकहरुले १२:३० बजे स्वाब संकलन गरेका हुन्। आजबाट सुरु भएको संसद अधिवेशनमा सहभागी हुने प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सबै सदस्यको कोरोना परीक्षण अनिवार्य गरिएको छ। हिजोबाट सांसदहरुको थ्रोट स्वाब संकलन सुरु गरिएको थियो। आज बिहान पनि ६३ जना सांसदहरुबाट नमुना लिइएको थियो।

त्यसमध्ये हिजो परीक्षण गरिएका २ सय १२ जना सांसद कोरोना संक्रमण मुक्त रहेको देखिएको छ। बाँकीको रिपोर्ट आउन बाँकी छ। रिपोर्ट नेगेटिभ देखिए मात्र सांसदहरु संसदमा प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई मध्यनजर गर्दै संसद भवनमा विशेष व्यवस्था गरिएको छ। बैठक कक्षको पहिलो र दोस्रो लाइनको १२ सिट प्रधानमन्त्रीका लागि सुरक्षित गरिएको छ। केही समयअघि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीमा संक्रमणको जोखिम रहेको भन्दै निजी चिकित्सकको परामर्शपछि दुई लाइन प्रधानमन्त्रीका लागि सुरक्षित गरिएको हो।

पहिले एक लाइनमात्र छाड्ने भने पनि स्वास्थ्यकर्मीको टोलीको परामर्शपछि प्रधानमन्त्रीका लागि १२ सिट छुट्याइएको हो। यस्तै, अन्य सांसदहरुका लागि दुई सिटको अन्तरमा बस्ने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell