
काठमाडौं : नेपालमा शुक्रवारसम्म कुल ७० हजार २३ जनामा कोरोना परीक्षण भएको छ। पीसीआरमार्फत १५ हजार ४ सय ९२ र आरडीटीबाट ५४ हजार ५ सय ३१ को परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।
उनका अनुसार २४ घण्टामा १ हजार ४ सय ५९ जनामा कोरोना परीक्षण गरिएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा उनले १५ हजार ६ सय २४ क्वारेन्टाइनमा रहेको बताए। त्यस्तै, १ सय ३४ जना आइसोलेसनमा छन्।
बाँकेमा शुक्रवार एक जना पुरुषमा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ। ३० जना निको भएर घर फर्किएको देवकोटाको भनाइ छ।
नेपाललाई स्वीडेनले ३० हजार पीसीआर किट सहयोग गरेको प्रवक्ता देवकोटाले बताए। सहयोग आएसँगै पीसीआरको परीक्षण बढ्ने उनले बताए।