PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

गण्डक हस्पिटललाई कोभिड-१९ विशेष बनाउने कुनै निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय



राधेश्याम पटेल

गण्डक हस्पिटललाई कोभिड-१९ विशेष बनाउने कुनै निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

वीरगंज : वीरगंज-१४ मा रहेको गण्डक हस्पिटललाई कोभिड-१९ अस्पताल बनाउने निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह-प्रवक्ता डा समीर अधिकारीले दिएको जानकारी अनुसार शुक्रवार दिउँसो ३ बजेसम्म गण्डकलाई नारायणी अस्पतालकै शाखाको रुपमा कोभिड-१९ अस्पताल बनाउने निर्णय नभएको जानकारी दिए।

‘गण्डक हस्पिटलको बारेमा कुनै पनि आधिकारिक निर्णय भएको छैन’, उनले भने।

दुई दिनअघि पर्साका केही नेकपाका नेताहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटेर सामाजिक सञ्जालमा वीरगंज महानगरको प्रयासमा गण्डक अस्पताललाई कोभिड-१९ अस्पताल बनाउने मन्त्रीस्तरीय निर्णय भएको दावी गर्दै पोस्ट गरेका थिए। त्यसपछि वीरगंजमा नारायणी अस्पताललाई जनरल सेवा दिने अस्पतालमै फर्काउने र नारायणीकै शाखाको रुपमा गण्डक हस्पिटललाई कोभिड-१९ विशेष बनाउने बारे राजनीतिक बहस चलेको थियो।

अहिले पनि नेकपाका नेताहरुले आधिकारिक पत्र बेगर मिडियामा नारायणी अस्पताल जनरल अस्पताल बनेको र गण्डक अस्थायी कोभिड-१९ अस्पताल बनेको प्रचारबाजी गर्दै आएका छन्।

स्वास्थ्यमन्त्रीसँग भेट्न गएको टोलीका सदस्य तथा नेकपाका प्रदेश २ का सहअध्यष एवं पूर्वसभासद नागेन्द्र चौधरीले भने, ‘यो सवाल प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सोध्नुहोस्, उनले नै मन्त्रीलाई फोन गरी गण्डक अस्पताललाई कोभिड १९ विशेष नबनाउने भनेपछि पत्र रोकिएको थियो।’

यता, नेकपाको टोलीका अर्का सदस्य एवं पूर्वसभासद विचारी यादवले वीरगंजमा छुट्टै कोभिड-१९ अस्पताल बनाउने उद्देश्यले मन्त्रालयबाट रोशन पोखरेलको नेतृत्वमा सचिव स्तरीय टोली वीरगंज आउन लागेको दावी गरे। उनले वीरगंजका मेयर विजयकुमार सरावगीले महानगरसँग सम्झौता गरेको गण्डक हस्पिटल कोभिड-१९ विशेष नबनोस् भनी लागेको आरोप समेत लगाए।

नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले नारायणीलाई जनरल र गण्डक हस्पिटललाई कोभिड१९ विशेष बनाउने बारे कुनै आधिकारिक पत्र वा मौखिक जानकारी नआएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell