काठमाडौं: समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीकापुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाईको माग गरेका छन्। चौधरीमाथिको मुद्दा राजनीतिक मुद्दा भएकाले खारेज गरेर रिहा गर्नुपर्ने उनको माग छ।
शुक्रवार संसद बैठकमा बोल्दै भट्टराईले थरुहट आन्दोलनका विम्ब रेशम चौधरीलाई जेलमा राख्नु उपयुक्त नभएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओली १४ वर्ष जेल बस्दा राजनीतिक मुद्दा भएकाले तत्कालिन शासकले फिर्ता लिँदा रिहा भएको उहाहरण पेस गर्दै बाबुरामले चौधरी थारु समुदाय जोडिने भएकाले यो राजनीतिक मुद्दा नै भएको जिकिर गरे।
‘हिजो झापा आन्दोलनका क्रममा हाम्रो प्रधानमन्त्री १४ वर्ष बस्नुभयो। माओवादी जनयुद्धका बेला थुप्रै नेता बस्नुभयो। कांग्रेसका साथीहरु थुप्रै बखत पनि बस्नुभयो। राजनीतिक मुद्दा भएकाले खारेज र फिर्ता भएका थिए,’ उनले भने, ‘रेशम चौधरीको मुद्दा पनि थरुहट आन्दोलनसँग थारु विद्रोहको क्रममा भएको दु:खद घटना हो। धेरै मान्छेको ज्यान गएको राम्रो होइन त्यसलाई फिर्ता लियौ भने ठूलो एउटा थारु समुदाय जोडिन पुग्छ।‘
नेता भट्टराईले अहिलेको महामारीका बेला सशस्त्र क्रान्तिको धारमा हिँडिरहेको प्रतिबन्धित नेत्रविक्रम चन्द समूहलाई पनि शान्तिपू्ण बाटोमा आउने निकास दिने वातावरण बनाउन सरकारलाई आग्रह गरे।