PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

वडाध्यक्षले भारतबाट आएकी आमालाई क्वारेन्टाइनबाट जर्बजस्ती लगे घर



रासस

वडाध्यक्षले भारतबाट आएकी आमालाई क्वारेन्टाइनबाट जर्बजस्ती लगे घर
रासस : फाइल फोटो।

लुम्बिनी : समरीमाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन्।

समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन्। नेपाल आएको खबर पाएपछि गाउँलेको विरोधमा उनलाई बेतकुइयाको भैसागाहन मदरसामा राखिएको थियो।

उनको स्वास्थ्य जाँच नगरिकनै वडाध्यक्षले जबर्जस्ती घर लगेको उक्त क्वारेन्टाइनका स्वास्थ्य विभाग प्रमुख मुन्सीप्रसाद माझीले बताए।

उनले भने, ‘वडाध्यक्षज्यूहरुले लैजाने भन्नुभएछ, हामीले त नलैजानुस् भनेकै हो तर उहाँले लगेर जानुभयो।’

क्वारेन्टाइनमा अहिले २८ जना छन्। ती सबै भारतबाट आएका हुन्। क्वारेन्टाइनमा नेपाल प्रहरीको सुरक्षा टोली छ।

क्वारेन्टाइनबाट जबर्जस्ती आफ्नो मान्छे लगेको भन्दै त्यहाँं बसेका अन्य व्यक्तिले पनि अब त्यहाँ नबस्ने भन्दै झगडा शुरु गरेको गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले बताए।

उनले भने, ‘म जिल्लाभरिका स्थानीय तहका प्रमुखहरुको बैठकमा सहभागी हुन भैरहवा छु, मैले भर्खर सुनेँ। क्वारेन्टाइनमा बसेको मान्छेको स्वाब परीक्षण नगरी घर लैजान मिल्दैन।’

क्वारेन्टाइनमा आएकाहरु सबैको रिर्पोट नेगिटभ आएको छ। क्वारेन्टाइनमा बसेको मान्छेलाई यत्तिकै घर लग्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए।

उनले भने, ‘मलाई जानकारी आएको छैन तर त्यसरी लैजानै मिल्दैन।’

मर्चवार क्षेत्र भारतसँंग सीमा जोडिएको रुपन्देहीको दक्षिणी क्षेत्र हो। उक्त क्षेत्रबाट मानिसहरु राति नेपाल प्रवेश गरिरहेको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell