काठमाडौंः वैशाख २३ गते बिहान नेकपा नेता दानबहादुर शाहीको निधन भएको खबर आयो। मृतकको परिवारलाई समवेदना दिन निस्किए कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोक चन्द। उनीसँगै थिए वेदकोट उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र रेग्मी पनि। उनीहरु सवार गाडी चलाएका थिए दिलबहादुर चौधरीले।
वेदकोटबाट धनगढी हुँदै पुनर्वास नगरपालिका पुगे उनीहरु। कञ्चनपुर खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष समेत रहेका मृतक दानबहादुर शाहीलाई श्रद्धाञ्जली दिए। परिवारलाई भेटे, समवेदना प्रकट गरे। र, फर्किए।
आएकै बाटो फर्कदै गर्दा झमझम पानी पर्न थाल्यो। उता नगरपालिकामा आएर पर्खिएका सेवाग्राहीहरुले पटकपटक फोन गर्दै थिए। त्यसैले गाडीको रफ्तार केही बढ्यो। लकडाउनका कारण सडकमा अवरोध हुने सम्भावना कम थियो। साढै १० बजे निस्किएका उनीहरु १ घण्टामा कृष्णपुर नगरपालिकास्थित वाणी-मछेली पुल मछेली पुल नजिकै पुगेका थिए। गाडी एक्कासी अनियन्त्रित भयो। र, दुर्घटना।
कसरी दुर्घटना भयो?
कारण - मछेली पुल नजिक पुग्दा त्यहाँ इँटा बोकेका चार वटा ट्याक्टर लहरै रोकिएका थिए। मेयर चन्द चढेको गाडी करवि २० मिटर नजिक पुग्दा लस्करको सबैभन्दा पछाडि रहेको सु प प्र ०१००२ त ४२५० नम्बरको ट्याक्टर गुड्यो।
'चालकले यता उता नहेरी सडकको बीचमा पुर्याए। सबैकुरा एकदम अप्रत्यासित भइरहेको थियो। तर हाम्रो गाडी देखेपछि पनि ती ट्याक्टर चालकले बीच भाग हुँदै ओभरट्याक गरे', मेयर चन्दले सम्झिए।
त्यसपछि उनीहरुको गाडी मुख्य सडकबाट बाहिरतिर गुड्न थाल्यो। कच्ची बाटोबाट २०/२५ मिटर गुडेपछि दायाँतिर नाली थियो। त्यही नालीको डिलबाट नखसोस् भन्दै चालकले गाडी मुख्य सडकमा फर्काउन बायाँ टर्निङ्ग लिए। तर, वर्षाको कारण गाडी असुन्तुलन भइ सडकमै रहेको से २ त ३४३७ नम्बरको ट्याक्टरमा ठोक्किन पुग्यो।
दुर्घटनाग्रस्त गाडी हेर्दा नआत्तिने कोही थिएनन्। तर, समय बलियो मानौं, उक्त दुर्घटनामा परेका कसैलाई पनि केही भएन।
मृत्युको मुखबाट कसरी बाँचे?
ट्याक्टरमा ठोक्किएपछि मेयर चन्दको गाडी धुवाले भरियो। ‘त्यो अवस्था अत्यन्तै डरलाग्दो थियो। भयानक थियो। तलबाट आगो, जलेकोजस्तो आवाज आएको थियो। धुँवा आएको थियो। हामी आत्तियौं,’ उनले सुनाए।
सोचिसकेका थिए – अब बाँचिँदैन। किनकि चालक आफ्नो सिटमा लडिराखेका थिए। रामचन्द्र रेग्मी पनि उत्तानो परेको अवस्थामा देखे।
'अनि म चाहीँ ठोक्किने डरले हातले टाउको छोपेको अवस्थामा थिएँ। यसो हेर्दा दुवै जना खतम हुनुभयो कि भन्ने पनि लाग्यो,’ उनले थपे, ‘मैले बोलाउँदा पनि उहाँहरु राम्रोसँग बोल्नुभएन, एकदमै आत्तिएको अवस्थामा थिए।'
केही छिनमै चालकले अत्तालिएर कराए - आगो लाग्यो। ढोका खोल्न खोजे तर सेन्टर लक गरेका कारण खुलेन। हातखुट्टाले हानेरै सिसा फोड्न कोसिस गरे, सकेनन्।
त्यो भयावह दुर्घटनाबाट बाँचे। लगत्तै जिउँदै जलिने डरले पोल्न थाल्यो।
धन्न चालकले आफू छेउको ढोका कुच्चिएर सानो छिद्र परेको भेट्टाए। त्यहीँ छिद्रमा बल प्रयोग गरेर ढोका धकेले। चालक बाहिर निस्किए। त्यही भागबाट मेयर चन्दलाई पनि निकाल्न कोसिस नगरेका होइनन्। 'तर मेरो शरीर मोटो भएकाले सकिएन। त्यसपछि त झनै आत्तिएँ। धुँवा आइ नै रहेको थियो', घटना सुनाउँदै गर्दा उनी आत्तिएकै छन्।
चालकले धेरै प्रयत्नपछि गरेर ढोकाको माथिल्लो भागबाट आफूलाई तानेर बाहिर निकालेको सम्झन्छन् उनी। अनि आफू बाँचेको त्यो पल सम्झिँदै मेयर चन्द सन्तोषको श्वास फेर्छन्। अनि सुनाउँछन्, ‘म बाहिर निस्के पछि पछाडिको सिटमा रहनु भएका रामचन्द्र रेग्मीलाई सबैको सहयोगमा निकाल्यौं। गाडीको अगाडिको सिसा फोर्नु पर्यो।'
स्थानीयलाई एम्बुलेन्स र सुरक्षाकर्मी बोलाउन आग्रह गरे। पर्खदाँ पर्खदै स्थानीय जन प्रतिनिधि आइसकेका थिए। मेयरको हातको चोटबाट भने रगत धेरैनै गइरहेको थियो। 'स्थानीय महिलाले सल च्यातेर तीन चार ठाउँमा बाँधिदिनु भयो', उनी धन्य सुनिन्छन्।
उनलाई लागेको थियो – हात चाहिं भाँचियो।
उद्धारपछि माया मेट्रो हस्पिटल धनगढी पुगे। तीनै जनाको अवस्था सामान्य। घाउ धेरै ठूलो रहेनछ। अनुमान गरे सरह भाँचिएको पनि होइन रहेछ। कोरोना परीक्षणका लागि आएका लगायत अन्य विरामी भएकाले घरमै आराम गर्ने सुझावसहित डिस्चार्ज भए।
'अहिले म घरमै आराम गरिरहेको छु। खबर बुझ्न फोन गर्ने जतिलाई सन्देश दिइरहेको छु – तिव्र गति जीवन क्षति।'