
टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'का सदस्य इब्राहिम गोसेकको निधन भएको छ। ४१ वर्षीय उनले ‘सत्यका लागि गाउन पाउने अधिकार’का लागि ११ महिनाअघि आमरण अनशन सुरु गरेका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि ब्यान्ड, परिवार र आम दर्शक,स्रोताको आग्रहमा उनले गत बुधवार पत्रकार सम्मेलन आयोजना गरी अनशन तोडेका थिए। उनलाई तत्काल इस्तानबुलस्थित अस्पताल पुर्याइएको थियो।
विहीवार नै उनको ३ सय २३ औं दिन लामो अनशन र आइसियूमा एक दिनको संघर्षको अन्त्य भयो। ब्यान्डले विहीवार खबर पुष्टि गर्यो।
ग्रुप योरम ब्यान्डमा उनी गितारिस्ट थिए। उक्त ब्यान्डमा टर्किस र कुर्दिस सदस्यहरु छन्। उनीहरु स्वतन्त्रताका लागि गरेको संघर्ष, अन्तर्राष्ट्रिय ऐक्यवद्धता र दैनिक मजदुरी गर्नेहरुको पक्षमा गीत लेख्छन्, गाउँछन् र प्रस्तुति दिन्छन्।
तर राज्य भने उनीहरुको विरुद्ध छ। ब्यान्डको कार्यालयदेखि कार्यक्रम स्थलमा पटक पटक छापा मारेको, ब्यान्डका सदस्यलाई विना कारण पक्राउ गर्ने र यातना दिने गरेको खबर समेत सार्वजनिक छन्।
सरकारले उनीहरुको सार्वजनिक कार्यक्रममा प्रतिबन्ध समेत लगाएको छ।
यसैबीच प्रहरीले इब्राहिमको अन्तिम संस्कारमा हस्तक्षेप गरेको छ। 'ग्रुप योरम' ले इब्राहिमको अन्तिम संस्कार गर्न इस्तानबुलमा कार्यक्रम गरेको थियो। प्रतिबन्धित ब्यान्डका सदस्यहरु भेला हुने भएकाले उनको शरीरलाई नियन्त्रणमा लिइएको बताइएको छ। एसेम्बली हाउस (सेमिभी) मा भएको कार्यक्रममा प्रहरी पुगेर इब्राहिमको पार्थिव शरीर नियन्त्रणमा लिएको हो। प्रहरीले इब्राहिमको पार्थिव शरीरलाई परिवारलाई सम्पेको छैन। सो क्रममा प्रहरीले करिब २० जनालाई पक्राउ गरेको छ।
यता, इब्राहिमको पार्थिव शरीरलाई गृह नगर कायसेरी पुर्याउने र त्यही दफन गर्ने बताइएको छ। तर, त्यहाँको फासिस्ट समूहले काउसेरीमा उनलाई दफन गर्न नदिने र बलपूर्वक दफन गरिएपनि पछि निकाल्ने धम्की दिएका छन्।
राज्यले ब्यान्डमाथि गर्ने अन्यायविरुद्ध, कन्सर्ट प्रतिबन्धको फुकुवा, विना कारण पक्राउ परेका सदस्यको रिहाइको मागसहित इब्राहिम र अर्की सदस्य हेलिन बोलेक अनशनरत् थिए।
२८ वर्षीय हेलिनको गत अप्रिल ३ मा निधन भयो। उनले २ सय ८८ औं दिनसम्म अनशन जारी राखेकी थिइन्।