PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सर्वेन्द्र खनालको राजनीतिक सर्वेसर्वा, प्रहरीमाथिको भरोसा चाहिँ भर्सेलामा



पहिलोपोस्ट

सर्वेन्द्र खनालको राजनीतिक सर्वेसर्वा, प्रहरीमाथिको भरोसा चाहिँ भर्सेलामा

  • विमल गौतम -

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंबाट फोन गरेर आफूहरू महोत्तरी पुगेको र सरसल्लाहमै डा. सुरेन्द्र यादव, उनका अंगरक्षक र आफन्तसँगै काठमाडौ आएको बताएको भनी संचारमाध्यमले उल्लेख गरेका छन्। उनले यो अपहरण नभएको दाबी छन्। नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा समेत नेतृत्व गरेर छुट्टै छबि बनाएका र प्रहरी महानिरीक्षकको पदबाट सेवा निवृत्त भएका खनाललाई अपहरण कस्तोलाई भन्ने भनेर राम्रो ज्ञान छ नै र यसमा कसैले शङ्का गर्ने ठाउँ पनि रहेन।

यो प्रकरणलाई खनालले अपहरण होइन भनिरहँदा यदि कसैले अपहरण नै हो भन्छ भने उसले नेपाल प्रहरीको अपराध र अपराधी पहिचान गर्ने क्षमता मै प्रश्न उठायो भनेर बुझ्नुपर्ने हुन्छ। खनालले गर्ने कार्यमा खनाल मात्रै हुँदैनन्, यसमा त उनले पाएको शिक्षा, तालिम, अग्रजबाट प्राप्त ज्ञान र सङ्गठनको सिङ्गो समाज नै प्रतिबिम्बित हुन्छ। मलाई नेपाल प्रहरीलाई बदनाम गराउनु छैन। अझै पनि केही समस्या भएमा मैले सहयोग माग्न, न्याय माग्न प्रहरी प्रशासन नै जानुपर्छ। अझैसम्म आवश्यकताले, करले, बाध्यताले वा कुनैपनि तरिकाले समस्या पर्दा प्रहरी म र म जस्ताको झिनो भए पनि आशाका केन्द्र नै हुन्। त्यसैले प्रहरी महानिरीक्षकको गरिमामय पद सम्हालिसकेको व्यक्तित्वले अपहरण हैन भनेपछि हैन नै भनेर पत्याऔँ। त्यसै पनि "प्रहरी मेरो साथी" अभियान छ। महेश बस्नेत र कृष्णकुमार श्रेष्ठहरूको मात्रै प्रहरी साथी नबनोस्, आम जनताको पनि साथी बनोस्। सबैको अपेक्षा छ।

ल यो अपहरण होइन। त्यसो भए के हो त? यो खोजीको विषय बनेको छ। आम मानिसले चासो राखेका छन्। प्रतिपक्षमा रहेकाहरूलाई यो विषय अर्को चुनावका लागि प्रोपोगन्डाको विषय बनेको छ, उनीहरूले यसलाई यो भन्दा माथि सोचेकै छैनन्। सत्तापक्षका लागि यो घटना टाउकोमा सामान्य खुजुली जस्तै हो। प्रहरी त सामान्य जनताको भरोसाको केन्द्र हो, आश हो र विश्वास हो भन्ने कसले बुझिदिने? प्रहरीप्रति जनआस्था बढाउने कि बढार्ने, यो प्रहरी सङ्गठन र यसलाई चलाउने गृह प्रशासनको जिम्मा।

कानून सोझो अर्थमा केलाई अपहरण भन्दोरहेछ त, त्यतातिर एकपटक बुझ्ने प्रयास गरौँ। मुलुकी अपराध संहिता २०७४ को भाग २ को परिच्छेद १७ मा अपहरण वा शरीर बन्धक सम्बन्धि कसूरको व्यवस्था गरिएको छ। यसमा दफा २११ को उपदफा २ को (क) र (ख) मा अपहरण मानिने अवस्थाको उल्लेख गरिएको छ जुन निम्नअनुसार छ:-

(क) कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा वा,

(ख) कुनै व्यक्तिलाई निजको मञ्जुरी विना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरुको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मञ्जुरी विना वा झुक्यानमा पारी जवर्जस्ती कुनै ठाउँमा लगेमा।

माथिको व्यवस्था अनुसार अपहरणकार्य भयो या भएन भन्नेकुरा कि "अपहरित भएँ" भन्नेले जान्दछ्न् कि त अपहरणकारीको आरोप लाग्नेले नै जान्दछ्न्। प्रहरीले इमानदार भएर अनुसन्धान गरेपछि अपहरणका लागि आवश्यक तत्व पुगे नपुगेको सरकारी वकिलले अदालमा बहस गर्लान् नै र न्यायाधीशले उपयुक्त तर्कमा आधारित भएर तथ्य केलाइ ठहर गर्लान् नै। हामी यहाँ सामान्य मानिसका मनमा उब्जने केही प्रश्नहरूलाई हेरौं,

१) डा. सुरेन्द्र यादवलाई नै लिनका लागि यो कोरोना सङ्कटको बेलामा खनाल

 र उनको समूह काठमाडौबाट किन गए? कि उनको अरु कुनै काम थियो र संयोगले पो एउटै गाडीमा परेका हुन् कि?

२) डा. यादवलाई ल्याउन रातारात किन गर्नुपरेको हो? कुनै आपतकालीन अवस्था थियो कि?

३) के खनाल लकडाउनको अनुगमन गर्न यात्रामा निस्केका हुन्? कि कोरोनाले मरिहालिएला कि भन्ने भयले एकपटक जानकी मन्दिर दर्शन गरौं न त भनेर तीर्थ यात्रामा निस्केका त होइनन्? ल यी चारैजना नजिकका मिल्ने साथी रहेछन्, मानौँ। यिनीहरूलाई कोरोना सङ्कटको बन्दाबन्दीको (लकडाउन) बेला काठमाडौ जनकपुर यात्रा गरेर यसो चियापान गर्दै रमाइलो गर्ने लहड नै चलेछ होला (उम्दा उमेरमा मन स्थिर पनि नहुने भएकोले), काठमाडौं आइसकेपछि साथीलाई होटलमा नै छोडेर आफू किन घरमा गए होलान्? साथीलाई घर नै लैजान वा उनका आफन्तसम्म किन नपुर्‍याएका होलान्?

४) के काठमाडौ आउनैपर्दा सांसद यादव आफैँ काठमाडौ आउनसक्ने अवस्थामा थिएनन्?

५) राजनीतिक व्यक्तिको त आआफ्नो सरसल्लाह वा दाउपेच थियो नै होला, त्यसमा प्रहरी जस्तो सङ्गठनका पूर्व प्रमुख खनाल

 नै जानुपर्ने गरेर के त्यस्तो अवस्था थियो? कतै दवाव, प्रलोभन, प्रभाव र जोरजुलम गर्नलाई खनालसँग यादव विरुद्ध केही गोप्य हतियार पो थिए कि?

७) सामान्य अवस्थामा नै आउनुपरे यादव एक फोनकलको भरमा आउन सक्तैन थिए र? केही बल लगाउनुपर्ने आवश्यक भएकोले नै उनलाई लिन टोली जानुपरेको कुरा जोकोहीले अड्कल नकाट्लान् र? त्यसमा पनि गैर राजनीतिक व्यक्ति खनाललाई लिएर जानुमा केही तथ्य नलुकेको होला र ?

यी माथि उल्लेख प्रश्नहरूले उक्त घटनालाई अपहरण भएको आशंका गर्ने ठाउँ छोडेका छन्। आफूलाई जबर्जस्ती ल्याइएको भनेर यादवले बोलिरहँदा अपहरणका तत्वहरू उपस्थित छन् भनेर अनुमान गर्न गाह्रो छैन। अपहरण हो या होइन भन्ने कुरा उपलब्ध गरे गराइएका तथ्यका आधारमा सम्बन्धित निकायले भन्ला, त्यसमा पनि कसले कसरी आफ्ना तर्क र प्रमाण पेश गर्ला भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यहाँ समस्या अपहरणको भन्दा पनि खराब राजनीतिक संस्कारको छ। गिरिजाप्रसाद कोइराला मरेर गए। उनले गर्ने गरेको सांसद जोडघटाउको राजनीतिले गणतन्त्रकालमा पनि छोडेन। यो घटना त्यही घीनलाग्दो राजनीतिको खोल ओडेको दुष्कार्य हो जुन सरकार संचालकहरूबाटै कानूनी राज्यको उपहास गरिएको पछिल्लो एक उदाहरण हो।

देशको नेतृत्व गरिरहेका व्यक्ति गैरसंवैधानिक तरिकाले अध्यादेश जारी गर्छन्। तटस्थ भूमिकामा रहनुपर्ने राष्ट्रपति हतारहतार पार्टीको कार्यकर्ता कै रूपमा त्यसलाई अनुमोदन गर्छिन्। सांसदहरू रातारात अर्को सांसद फकाउन संकट र सरकारी नियम उल्लंघन गर्दै उत्तरबाट दक्षिणसम्मको यात्रामा निस्कन्छन् र रातारात अपहरणशैलीमा (अहिले अपहरण नभनौँहोला) काठमाडौ ल्याउँछन्। त्यसमा पनि प्रहरीको नेतृत्व सम्हालिसकेका व्यक्ति कमान्ड सम्हाल्न आइपुग्छन्। सरकारले लगाएको यी सबै शक्ति कोरोना नियन्त्रणमा लगाएको भए कोरोना परीक्षणका किटको अभावमा परीक्षण रोक्नुपरेको समाचार आउने थिएन होला। नेपालमा राजनीतिक खेलाडीले गर्ने अराजनीतिक गतिविधिको एउटा नमूना मात्रै हो यो संचार माध्यममा भनिएको सांसद अपहरण काण्ड। महेश बस्नेत र किसान श्रेष्ठ मात्रै सहभागी भएको भए पनि गलत राजनीतिक चरित्रको रूपमा चित्रण गरेमात्र पुग्ने थियो। पूर्व प्रहरी प्रमुख मुछिएको यो घटनाले नेपाल प्रहरीको शाखमात्रै गिराएको होइन कि यसले केही अहम् प्रश्न उब्जाएको छ-

१) नेपाल प्रहरीमा किन यस्तो प्रवृत्तिका पात्रले नेतृत्व गर्ने अवसर पाएका छन्?

२) उनीहरू कोबाट, कसरी संचालित हुन्छन्?

३) यस्ता प्रहरीबाट सामान्य जनताले सुरक्षाको अपेक्षा कसरी गर्ने?

नेतृत्व नै गलत उद्देश्यबाट प्रेरित भएपछि तल्लो तह कसरी सही बाटोमा हिँड्ला? यी सबैको एकमुष्ट दोष राजनीतिलाई दिएरमात्रै हुँदैन। प्रहरीको गिर्दो शाख जोगाउन प्रहरी प्रशासनको अहिलेको नेतृत्वले काम थाल्नु जरुरी देखिन्छ। कसैबाट प्रेरित नभाइकन यो घटनालाई पनि स्वतन्त्र छानबिन गर्नसके प्रहरीको इज्जत केही जोगिएला। राजनीतिक आवरणमा हुने अपराधलाई बढुवाको लोभमा नपरी बिनादवाव अनुसन्धान गर्ने हैसियत प्रहरी प्रशासनमा हुनु आवश्यक छ।

काठमाडौ प्रहरी कार्यालयले उजुरी लिइसकेको छ। कानूनी रूपमा अपहरण हो वा होइन भन्ने सम्बन्धित निकायले अनुसन्धानपछि ठहर गर्ने विषय भए पनि यो घटनाले सामान्य जनतामा प्रहरीप्रति नै नकारात्मक धारण विकास गरेको छ।

पूर्व प्रमुख खनाललाई यो सहयोगको बदलामा केही उपहार पाउने आश्वासन आएको पनि हुनसक्छ। त्यस्ता उपहारको लोभमा फसेर प्रहरीको बदनाम गराउन उनलाई आफ्नो उच्च मर्यादाले पनि रोक्न नसक्नु दु:खको कुरा हो। कानूनी कामकारबाही चल्दै जाला आफ्नो ठाउँमा छ तर उनले यस घटनाका लागि आत्मालोचना गर्दै समग्र प्रहरी सङ्गठनलाई बदनाम गराएकोमा माफी मागे राम्रो हुन्छ। अबको प्रहरी नेतृत्व राजनीतिक नेतृत्वको चाकरीमा लाग्नुभन्दा आफ्नो सङ्ग्ठनको मर्यादा कायम राख्नमा प्रेरित हुनुपर्ने आवश्यक देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell