
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।
प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैँले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रमा सडक बनाएकोप्रति आपत्ति प्रकट गर्दै सो माग गरेका हुन्।
प्रवक्ता श्रेष्ठले ट्वीटमा भनेका छन्, ‘नेपाली भूमिमा सडक बनाई शुक्रवार उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।’
भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।
— NKShresthaPrakash (@nksthaprakash) May 9, 2020
उनले सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने धारणा समेत व्यक्त गरे।
भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा पर्याएको छ।
भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रवार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए।
नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ। यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक गतिविधि गर्दै आएको छ। भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो।