
काठमाडौँ: काठमाडौँस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई नेपालको कानुन पालना गर्न सचेत गराएको छ। चिनियाँ नागरिकहरुले स्वदेश फर्कन पाउनुपर्ने भन्दै प्रदर्शन गर्न थालेपछि चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई सचेत गराएको हो।
शुक्रवार मात्र चिनियाँ नागरिकहरुले निषेधित क्षेत्रमा प्रदर्शन गर्नुका साथै प्रहरीसँग झडप गरेका थिए।
दूतावासले चिनियाँ भाषामा आफ्ना नागरिकहरुलाई सूचान जारी गर्दै नेपालको कानुन तथा नियमलाई ध्यानमा राख्न र आफ्ना माग कानुन अन्तर्गत राख्न निर्देशन दिएको हो।
दूतावासले अहिलेको अवस्थालाई बुझ्न र सीमा तथा अध्यागमन बन्द गर्ने नेपालको नीतिलाई मान्न भनेको छ। दूतावासले आफ्ना नागरिकहरुलाई अनावश्यक रुपमा यात्रा नगर्न र आफ्नो रक्षा आफैँले गर्न भनेको छ। नेपालमा रहेका चिनियाँ नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले काम गरिरहेको भन्दै सहयोग गर्नसमेत भनेको छ।
दूतावासले नेपालमा लकडाउनसँगै आवतजावतमा रोक लगाइएकोले आफ्ना नागरिकलाई कुनै समस्या परे दूतावासले अनलाइनमार्फत फारम भरेर समस्या जानकारी गराउन भनेको छ। अहिलेको अवस्थामा व्यक्तिगत रुपमा उपस्थित भइ आवेदन नलिइएको भन्दै अनलाइनको प्रयोग गर्न भनेको छ। दूतावासले आवश्यक परे व्यक्तिगत रुपमा आफ्ना नागरिकहरुलाई सम्पर्क गर्ने जनाएको छ।