काठमाडौँः शुक्रवार सिंहदरबार अगाडि सामान्य अवस्थाभन्दा केही फरक दृष्य देखियो। भीडबाट एक युवक केही अगाडि सरे। पछाडिबाट उनलाई केही प्रहरीले विस्तारै रोक्दै थिए। तर उनी रोकिएनन्। उनीभन्दा अगाडि सुरक्षामा खटिएका प्रहरी नायव निरिक्षक (सई) को बर्दीमा समाउन पुगे। उनले प्रहरको बर्दीमा रहेको सिट्ठी कर्डमा समातेर तानिरहे।
त्यसपछि केही प्रहरीले उनको हात फुस्काउन सफल भए। ती युवक चिनियाँ नागरिक थिए। प्रहरी संयम बनिरह्यो। ती युवक झनै आक्रोशित देखिए।
शुक्रवार उनीहरु आफ्नो देश फर्काउन माग गर्दै दबाब दिन सिंहदरबार छिर्न लाग्दा प्रहरीले रोकेपछिको दृष्य थियो। ४७ जना चिनियाँ नागरिक देश फर्काउन माग गर्दै प्रर्दशनमा उत्रिएका थिए।
त्यसपछि त्यहाँको माहोल झनै गरम बन्दै गयो। प्रर्दशनकारी र प्रहरीबीच झडप नै भयो। सेतो टिसर्ट लगाएकी एक युवती पनि त्यतिकै आक्रोशित देखिइन्। प्रहरीमाथि उनले प्रहार गरिरहिन्।
शान्त प्रर्दशन एकाएक तनावपूर्ण बन्दै गयो। प्रहरीले पनि लाठीचार्ज गर्न थाल्यो। चिनियाँ नागरिक पनि तनावमा देखिए। उनीहरु प्रहरीमाथि आइलागे। मुक्कादेखि लात्ती समेत बर्साउन थाले। झडपको क्रममा सुरक्षामा खटिएका महानगरीय प्रहरी वृत सिंहदरबारका प्रमुख डिएसपी हरिबहादुर बस्नेत घाइते भए।
प्रहरीले शुक्रवार नियन्त्रणमा लिएका ४७ मध्ये ४३ जनालाई छोडिसेको थियो। बाँकी ४ जना भने हिरासतमा छन्। उनीहरु विरुद्ध प्रहरीले अभद्र मुद्धा चलाउने तयारी गरेको छ। शनिवार उनीहरुको अनुसन्धान भइरहेको छ।
'हामी उनीहरुको अनुसन्धान गरिरहेका छौँ। चार जनाविरुद्ध मुद्धा चलाउँछौँ।' महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने।
आक्रोश आउने चिनियाँ नागरिक को थिए?
प्रहरीले शुक्रवार नियन्त्रणमा लिएका अधिकांश चिनियाँ नागरिक हाइड्रोपावर र मोबाइल कम्पनीमा काम गर्ने भएको खुलेको छ। नियन्त्रणमा लिएका युवक भीभो कम्पनीमा काम गर्ने भएको देखिएको हो।
'धेरै हाइड्रोपावर र मोबाइल कम्पनीमा काम गर्ने छन्।' परिसरका एसपी सोमेन्द्रसिंह राठौरले भने।
प्रहरीले मुद्धा चलाउन लागेका चार जना भने दुई वरिस भन्ने कम्पनीमा काम गर्ने गरेको खुलेको हो। उनीहरु गौरीधारामा कोठा लिएर बस्दै आएका थिए। त्यस्तै बाँकी दुई जनाले नेपाल घुम्न आएको प्रहरीमा बयान दिएका छन्। उनीहरु चीनको हुनानका भएको खुलेको हो।
'दुई जना घुम्न नेपाल आएको प्रहरीलाई बताएका छन्। पासपोर्टमा भिजिट भिसा देखिन्छ। अधिकांश भिजिट भिसामा आएका छन्। तर काम गरिरहेको देखिन्छ' एसपी राठौरले भने।