PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नारायणीलाई जनरल र गण्डकलाई कोभिड-१९ अस्पताल बनाउन सिफारिस



राधेश्याम पटेल

नारायणीलाई जनरल र गण्डकलाई कोभिड-१९ अस्पताल बनाउन सिफारिस

वीरगंज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थलगत निरीक्षण टोलीले वीरगंजको नारायणी अस्पताललाई पुनः जनरल अस्पताल नै बनाउन सिफारिस गरेको छ। कोरोना संक्रमितहरुलाई गण्डक अस्पतालमा स्थानान्तरण गरी पुनः नारायणीलाई जनरल अस्पतालको रुपमा सञ्चालन गर्न टोलीले मन्त्रालयलाई सिफारिस गरेको हो।

वीरगंजका मेयर विजय सरावगीको अध्यक्षता शनिवार वीरगंजमा बसेको सर्वपक्षिय बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन कुमार पोखरेल नेतृत्वको टोलीसँग भएको छलफलमा नारायणीलाई जनरल अस्पताल बनाउने निर्णय भएको हो।

बैठकले नारायणी अस्पतालको प्राविधिक व्यवस्थापन र नेशनल मेडिकल कलेज तथा वीरगंज महानगरपालिकाका २५/२५ प्रतिशत जनशक्ति रहने तथा नारायणी अस्पतालको ५० प्रतिशत जनशक्ति रहने गरी गण्डक अस्पतालमा कोभिड-१९ संक्रमितको उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ।

गण्डक अस्पतालमा कोभिड-१९ अस्पताल सञ्चालन गर्ने संयोजनको जिम्मा भने वीरगंज महानगरले लिने निर्णय भएको वीरगंजका मेयर सरावगीले बताए। गण्डक अस्पतालमा अब तत्कालै २ सय बेड क्षमताको आइसोलेसन सेन्टर स्थापनाको काम समेत अगाडि बढाइने उनले बताए।

महानगरको सभाहलमा आयोजित बैठकमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन कुमार पोखरेल, डा रवीन्द्र कुमार ठाकुर, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्याय, मन्त्रालयका प्रतिनिधि भीमप्रसाद सापकोटा, डा निरज सिंह, स्वास्थ्य सेवा विभाग टेकुका प्रतिनिधि डा सुरेन्द्र प्रसाद चौरसिया, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा कामेश्वर प्रसाद चौरसिया, वीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतो, सामाजिक विकाश मन्त्रालय प्रदेश नम्बर २ का प्रतिनिधि डा सरेश शुक्ला, डा कमलेश प्रसाद यादव, विश्व स्वास्थ्य संगठनका मेडिकल अफिसर डा दिपेन्द्र खतिवडा, डा सुरेश खड्का लगायतको सहभागिता थियो।

नारायणीबाट कोरोना अस्पताल गण्डकमा स्थानान्तरण गर्ने सहमति भए तापनि मन्त्रालयको आधिकारिक निर्णय आउन बाँकी रहेको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले बताए।

यसैबीच, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको नारायणी अस्पताललाई पुनः जनरल अस्पतालमा नफर्काउन मन्त्रालयमा राजनीतिक दबाब नदिएको स्पष्ट पारेका छन्। मुख्यमन्त्रीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई फोन गरी वीरगंजमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकोले गण्डक अस्पताललाई कोभिड-१९ विशेष अस्पताल बनाएर मात्र समस्या समाधान नहुने भनी रोक्न दबाब दिएको समाचार सञ्चार माध्यममा आएपछि उनले त्यसको खण्डन गरेका हुन्।

‘साथीहरुले राजनीतिक दाउपेच गरी श्रेय दिन खोजिरहेका छन्’, उनले भने, ‘मैले स्वास्थ्यमन्त्रीसँग कुनै प्रकारको गफ गरेको छैन, सबै हावादारी कुरा हो।’

प्रदेश २ सरकार र आफूलाई बदनाम गर्न नेकपाका नेताहरुले यस्तो काम गरिरहेको उनको आरोप थियो।

तीन दिनअघि स्वास्थ्यमन्त्री ढकाललाई भेट्न गएका नेकपाका नेता तथा पूर्वसभासद नागेन्द्र चौधरीले मुुख्यमन्त्रीले रोकेर नै मन्त्रालयले बुधवार चिठी नदिएको र बिहीवार बुद्ध जयन्तीको बिदा भएकोले काम असफल भएको बताएका थिए।

‘नारायणी अस्पतालाई जनरल अस्पताल र गण्डकलाई कोभिड-१९ अस्पताल बनाउने मन्त्री स्तरीय निर्णय भइसकेको थियो’, उनले दावी गर्दैै भनेका थिए, ‘अन्तिम घडिमा चिठी टाइप हुने बेलामा वीरगंजमा नयाँ संक्रमित भेटिएकोले हाललाई कुनै निर्णय नगर्न मुख्यमन्त्रीज्यूले फोन गरेर लबिङ गर्नुभएको थियो।’

नारायणीलाई कोभिड-१९ अस्पतालबाट जनरल र नारायणीकै शाखाको रुपमा अस्थायी कोभिड-१९ अस्पतालको रुपमा गण्डकलाई बनाउने त्यस बखत निर्णय भएको नेकपा पर्साका अर्का नेता तथा पूर्वसभासद विचारी यादवको दावी छ।

तर, शुक्रवार साँझसम्म मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले गण्डक अस्पताललाई कोभिड-१९ अस्पताल बनाउने विषयमा कुनै निर्णय नभएको जवाफ दिएका थिए। पर्साबाट गएको डेलिगेसन टोलीको विज्ञप्ति बुझ्दै मन्त्री ढकालले मन्त्रालयका वरिष्ठ चिकित्सक तथा प्रमुख विशेषक डा रोशन पोखरेलको टोली शुक्रवार वीरगंज पठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell