
भारतले कोरोना भाइरसको महामारी तथा लकडाउनले विभिन्न देशमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन ‘बन्दे भारत मिसन’ र ‘मिसन समुद्र सेतु’लाई अघि बढाएको छ। हालसम्म एक हजार ४ सय २५ भारतीयलाई ८ वटा उडानमार्फत स्वदेश फिर्ता ल्याइसकिएको टाइम्स अफ इण्डियाले जनाएको छ। जसअन्तर्गत भारतीय नौसेनाले जलमार्गमार्फत माल्दिभ्सको राजधानी मालेबाट ६ सय ९८ जनालाई केरलाको कोची पुर्याएको छ।
हवाई रुटमार्फत संयुक्त अरब इमिरेट्स, बहराइन, सिंगापुर र ढाकामा फसेका भारतीयलाई घर फर्काइएको छ। अन्य देशहरुबाट पनि उद्धार गर्ने क्रम जारी छ। आउँदो केही दिनहरुमा हजारौं भारतीयहरुलाई फिर्ता ल्याइने लक्ष्य भारत सरकारको छ।
फर्किएकाहरुको स्क्रीनिङ गरी समस्या देखिएका २ सय ४४ यात्रुलाई एरोसिटी द्वारका र दक्षिण दिल्लीको होटलहरूमा क्वारेन्टाइनका लागि पठाइएको छ। बाँकीलाई उनीहरुको गृहराज्य उत्तर प्रदेश, पञ्जाब र हिमाचल प्रदेश पठाइएको छ।
गृह मन्त्रालयले विदेशबाट आउनेहरुलाई अनिवार्य रुपमा १४ दिनको क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ। यद्यपि, उनीहरुलाई निजी होटेल र भाडाको कोठामा पनि क्वारेन्टाइनको अनुमति दिइएको छ।
भारतले आफ्ना नागरिक ल्याउन मिसन नै चलाइरहेका बेला नेपाल सरकार भने सीमामा रोकिएका नेपाली नागरिक समेत ल्याउन तयार छैन। अहिले पनि कञ्चनपुरदेखि झापासम्म सीमामा हजारौं नागरिक रोकिएका छन्। भारतीय क्वारेन्टाइनमा उनीहरु अनागरिक व्यवहार भोगिरहेका छन्।
त्यसैगरी भारतका विभिन्न स्थानमा नेपालीहरु अलपत्र छन्। खाडी र अन्य मुलुकमा पनि अलपत्र छन्। भारतबाट घर आउन चाहेका नेपाली त ल्याउन नसकेको सरकारले खाडीसहित अन्य मुलुकमा रोजगारी तथा अध्ययनका सिलसिलामा गएका नेपाली कहिले फर्काउछ भन्ने प्रश्न उठिरहेको छ। यसमा नेपाल सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन।
सरकारले जहाँ छन् त्यहीँ बस्न भनिरहेको छ। तर, भारतले त्यहाँ रहेका नेपालीलाई फर्किन दबाब दिँदै सीमासम्म पुर्यादिन्छु भन्दा पनि सरकारले आउन दिएको छैन। लकडाउन भएकाले जहाँ छ त्यहीँ बस्नुपर्ने सरकारको अडान छ।