PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

अरु प्रदेशमा कोरोना संक्रमित बढेसँगै झस्कियो कर्णाली : संक्रमित देश र जिल्लाबाट भित्रिएका छरपस्ट, केस नभित्रिएको कि नभेटिएको?



पी बी खड्का

अरु प्रदेशमा कोरोना संक्रमित बढेसँगै झस्कियो कर्णाली : संक्रमित देश र जिल्लाबाट भित्रिएका छरपस्ट, केस नभित्रिएको कि नभेटिएको?

सुर्खेत : केही दिनअघि छिमेकी प्रदेश प्रदेश ५ स्थित बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि कर्णाली तरंगित बन्यो। नेपालगञ्ज उपमहा नागरपालिकाभित्र एकै दिन १५ जना संक्रमित भेटिएपछि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेर एकाएक प्रदेशको प्रवेश सीमा नाका सिल गर्ने निर्णयमा पुग्यो।

कर्णाली प्रदेशको सीधा सम्पर्क जोडिएको बाँके कोरोनाको हटस्पट बन्दा कर्णाली अछुतो नरहने पक्का ठान्दै यस्तो निर्णयमा पुगेको हो। गत सोमवार गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस प्रतिकार्यका लागि नाका सिल गर्नेलगायतका ११ वटा निर्णय गर्‍यो। संयोगवस अहिले सम्म उच्च सतर्कताले नै मान्नुपर्छ, कर्णाली अछुतो नै छ। 

तर, ढुक्क भने हुन सक्ने अवस्था छैन। त्रास बढेकै छ। भाइरसको सुरुवात भएको चीनसँग सीमा जोडिएको र यहाँका अधिकांश नागरिक मजदुरीका लागि भारतलगायत तेस्रो मुलूकबाट फर्किएकै छन् जसले गर्दा पनि प्रदेश उच्च जोखिम हुदाँहुँदै पनि अहिलेसम्म संक्रमणबाट जोगिएकै छ।

यस्तै, केही डोल्पामा एक जनामा आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीको टोली हेलिकप्टरबाट डोल्पा पठायो। त्रिपुरा सुन्दरी नगरपालिका–८ का ६२ वर्षीय एक पुरुषमा एन्टीबडी पोजिटिभ देखिएपछि प्रदेश सरकारले तत्कालै चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली हेलिकप्टरबाटै डोल्पा पठाएको हो। वैशाख १२ गते नेपालगञ्जदेखि डोल्पा पुगेका उनलाई नगरपालिकाले क्वारेन्टिनमा राखेको छ।

सुर्खेतबाट गएको स्वास्थ्यकर्मीको टोलीले उनीसँगै अन्य पाँच जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका सुर्खेत ल्याएको छ। यसको रिजल्ट आइसकेको छैन। यद्यपि, सुर्खेतबाट गएका दुई जना प्रयोगशालाका प्राविधिक भने उतै बसे। पछिल्लो समय डोल्पाको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएसँगै डोल्पा तरंगित त बनेको छ नै कर्णाली प्रदेशमै कम्पन सुरु भएको छ।

नहोस् पनि किन? लकडाउनकै अवधि प्रदेश सरकारकै मन्त्रीहरुले भारतलगायत तेस्रो मुलूक र संक्रमित जिल्लाबाट आएर अलपत्र परेकालाई भित्र्याउने निर्णय गरेरै गन्तव्यस्थलमा पुर्‍याए। यसरी पुर्याएको तथ्यांक न प्रदेश सरकारसंग छ न त प्रहरीसँग। झण्डै १६ हजारको हाराहारीमा अघिल्लो साता मात्रै प्रदेशको दश जिल्लाका विभिन्न स्थानीय तहमा पठाएको प्रहरीको अनुमान छ।

जसले गर्दा पनि वैशाखको अन्तिम दुई साता निकै सतर्कता अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ। अझ यो दुई साताले ढुक्क रहने अवस्था भने छैन। किन कि प्रदेश सरकारसंग ढुक्क रहन अहिले पीसीआर परीक्षण गर्न कीटको अभाव छ। जबसम्म लकडाउनका अवधिमा भित्रिएका र भित्र्याईएका नागरिकको परीक्षण हुदैँन तबसम्म कर्णाली अछुतो भयो भन्नु उचित नहोला।

आरडीटीमा एन्टीबडी पोजेटिभ देखिए पनि पीसीआरको रिजल्ट आइ नसकिएकोले यसलाई अहिले नै कोरोना संक्रमण मान्न मिल्दैन। कर्णालीमा अहिलेसम्म संक्रमणको केस नदेखिए पनि कर्णाली सुरक्षित रहने अवस्था भने पक्कै छैन। सबै प्रदेशमा संक्रमित बढिरहेका बेला अहिलेसम्म प्रदेशमा संक्रमणको केस नदेखिदाँ दुई कुरा उब्जाएको छ। परीक्षणको दायरा निकै कम भएर भाइरस संक्रमित पत्ता नलागेका हुन् या भाइरस कसैमा संक्रमण नभएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार आजसम्म भारतलगायत तेस्रो मुलूकबाट आएर कवारेन्टिनमा बसेकालाई पहिलो प्राथमिकतामा राखेको छ भने शंकास्पद लक्षण देखिएर उनीहरुको पनि परीक्षण गरेको छ।

वैशाख लाग्दै गर्दा कीट अभाव झेलेको कर्णालीमा अहिलेसम्म पर्याप्त कीट अझै आईपुगेको छैन। जसले गर्दा लकडाउनका अवधिमा भित्रिएकाहरु क्वारेन्टिनमा बसेपनि परीक्षण हुन सकेको छैन। संक्रमित देश र जिल्लाबाट भित्रिएकाहरु अहिले छरपस्ट छन्। कति क्वारेन्टिनमा बसेका छन् भने, कति गाउँघरमै छन्। पीसीआर परीक्षणको दायरा बढाएर यसरी भित्रिएका सबैको एक/एक गरी परीक्षण गरे कर्णालीको वास्तविकता अनि आउँला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell