
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टाछुट्टै छलफल गरेका छन्। ओलीले सरकारी निवास वालुवाटारमा शनिवार दाहाल र खनालसँग छुट्टै भेट गरेका हुन्।
दुई अध्यक्षबीच शुक्रवार पनि भेटघाट भएको थियो। भेटमा ओली र प्रचण्डबीच पार्टी नेताहरुको माग अनुसार स्थायी समिति बैठक, सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको बुझिएको छ।
२५ गतेका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ। सचिवालय बैठकमा ओली आफू थाकेको भन्दै बीचैमा उठेर हिँडेपछि बैठक स्थगित भएको थियो। बैठकको माग गर्दै लिखित पत्र बुझाएका सदस्यहरुले बैठक डाक्न दबाब दिइरहेका छन्।
कोरोना परीक्षणका लागि बिहीवार संसद भवन पुगेका प्रचण्डले दुई अध्यक्षको परामर्शमा स्थायी कमिटीको बैठक बोलाउने प्रतिक्रिया दिएका थिए। तर, अझै बैठक डाकिएको छैन। संसदको हिउँदे अधिवेशन हिजोबाट शुरु भएको छ।