
कञ्चनपुर : लकडाउनका कारण भारतमा नेपालीको विजोग हुँदा पनि नेपाल सरकार र राजनीतिक दललाई कुनै चिन्ता चासो छैन, तर भारतीय कांग्रेसका नेताहरुले नेपालीको कहालिलाग्दो अवस्था देखेर दबाबमूलक कार्यक्रम गरिरहेका छन्।
भारतमा रहेका नेपालीको उचित व्यवस्थापन नभएको भन्दै कांग्रेस आईका नेताहरुले विरोध स्वरुप धर्ना दिएका छन्। शनिवार उत्तरप्रदेश उद्यमसिंह नगर खटिमा बजारको शहीद पार्कमा कांग्रेस आईका नेताहरुले विरोध एव धर्ना दिएका हुन्। उत्तर प्रदेश कांग्रेस आईका महासचिव भुपन कापरी सहितका नेताहरुले दुई घण्टा धर्ना दिँदै भारतमा अलपत्र परेका नेपालीको उचित व्यवस्थापनको माग अघि सारेका छन्।
भारतीय सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस आई उत्तरप्रदेशका महासचिव कपारीले भारत नेपाल दुवै सरकारले नेपाली मजदुरको विषयमा चासो नदिएको बताएका छन्। भारतका विभिन्न क्वारेन्टाइनबाट निष्कासित नेपालीको दयनिय अवस्था र सानासाना बच्चाहरुलाई लिएर पैदल सीमासम्म जाने त्यहाँबाट फर्काउने गर्दा नेपालीको विजोग भएको उनले बताए।
महासचिव कपारीले स्वदेश जाने व्यवस्थापन नहुन्जेलसम्म्म भारत सरकारले नेपाली मजदुरको उचित गाँसबासको व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका छन्। उनले भारतीय जिल्ला अधिकारीसँग अलपत्र परेका नेपालीको विषयमा छलफल गरेको बताउँदै नेपाल प्रवेश गर्न नपाउँन्जेलसम्म भारत सरकारले यथाशिघ्र उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
‘भारत सरकारले नेपालीलाई घर जान रोक लगाएको छैन’, उनले भने, ‘तर नेपाल सरकारले उनीहरुलाई प्रवेश गर्न दिएको छैन, त्यही भएर नेपालीहरु बढी अलपत्र परेका छन्।’
कांग्रेस आई उत्तरप्रदेशका महासचिव कपारीले अलपत्र परेका नेपालीलाई घरमै खाना खुवाइरहेका छन्। गुजाराका लागि मातृभूमि छाडेर भारत पसेका नेपाली मजदुरलाई कांग्रेस आईका नेताले संकटको अवस्थामा खाना खुवाउनेदेखि उनीहरुको उचित व्यवस्थापनको माग अघि सारेर धर्नामा बसेपछि नेपालीहरुले मानवताको धर्म निर्वाह गरेको बताएका छन्।
अहिले नै भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नसकिने नेपाली अधिकारीले बताइरहँदा भारतमा अलपत्र परेका नेपालीले स्वदेश फिर्ताको माग अघि सारेका छन्।
अपिसाईपाल नेपाली एकता समाज भारत सुबास नगरका अध्यक्ष बाबुदेव जोशीले भारतमा नेपालीको विजोग भएको बताए। उनले भारतमा रहेका नेपालीलाई खान लाउन समस्या भइरहेको बताउँदै दूतावासले समेत नेपालीका पीडा नबुझिदिएको बताए। उनले प्रधानमन्त्रीलाई ईमेल मार्फत ज्ञापन पत्र समेत पठाएको बताए।
दिल्लीस्थित नेपाली दूतावासले भारतमा अलपत्र परेका नेपालीलाई खानपिनको उचित व्यवस्थापन गर्ने र समस्या भए दुतावासमा सम्पर्क गर्न अनुरोध गरेपनि व्यवहारिक रुपमा समस्यामा परेका नेपालीको पीडा नबुझिदिएको अध्यक्ष जोशीले बताए। भारतमा रहेका नेपालीको विषयमा नेपाल सरकार, स्थानीय प्रदेश र राजनीतिक दलले चासो नदिएको उनको दुखेसो छ।
उनले चीनमा कोरोना संक्रमण हुँदा सरकारले धनीवर्गका नागरिकलाई उद्दार गरेको तर भारतमा संक्रमण हुँदा गरिब समुदायप्रति विभेद गरेको गुनासो पोखेको छन्। उनका अनुसार भारतभर हजारौँ नेपालीहरु खान नपाएर अलपत्र परेपनि कसैलाई चिन्ता न चासो नभएको बताए। अधिकांशले भारतमा रहेका नेपालीलाई स्वदेश ल्याउँदै उनीहरुको उचित क्वारेन्टाइन गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।