PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सुनसान हाइवेको यस्तो देखियो हाल

सुनसान हाइवेको यस्तो देखियो हाल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बाइकको एक्सिलेटर यसरी दबिएको थियो कि उनीहरू हतारोमा छन् भन्ने प्रष्ट बुझिन्थ्यो। लकडाउनको सुनसान सडकबाट चाँडै गन्तव्यमा पुग्ने हडबडी। सवारी कम चल्दा फराकिला देखिएका सडकमा उनीहरूको बाइक बत्तिएको प्रस्ट हुन्थ्यो।

काभ्रे भज्याङको प्रहरी अस्थायी चेक पोस्टमा पुगेपछि उनीहरूको बाइकको गति कम भयो। प्रहरीले उनीहरूलाई रोके। अरु समयमा पनि यो चेक पोस्टबाट बाहिरिने सवारीको रेकर्ड प्रहरीले राख्छ। झन् लकडाउनको समयमा नराख्ने कुरै भएन।

उनीहरूसँग सवारी चलाउनुको अनुमति पत्र मागियो। उनीहरूसँग केही थिएन। प्रहरीले एउटा रेकर्ड बुक पल्टायो। उनीहरूले मोबाइलमा फोन गरे। प्रहरीले उनीहरूकै फोनमा केही कुरा गरे। त्यसपछि उनीहरू बीपी हाइवेमा पहिले झै रफ्तारमा हुइँकिए।

उनीरुको बाइकको गति यति तीब्र थियो कि भेट्न नै मुस्किल।

आफन्त विरामी भएको खबर आएपछि उनीहरुलाई काठमाडौं छोडेर पूर्व हानिनु परेको रहेछ। कागजपत्र साथमा नभए पनि बाइक थियो, फुर्सदिला पनि थिए। त्यसैमा हुइँकिए।

घरमा बिरामी भएपछि काठमाडौँमा मन अडिने कुरै भएन। उनीहरूले ट्राफिकको १ सय ३ मा जानकारी गराएर बाइक नम्बर टिपाएका रहेछन्। काभ्रे भञ्ज्याङबाट पार हुनुअघि पनि पटक पटक त्यही टिपाएको नम्बरकै आधारमा उनीहरुले पार पाउन सके। प्रहरीले उनिहरुलाई सहजीकरण गरिरहे।

काठमाडौँ र भक्तपुरका सडक चोक चोकमा रहेका सुरक्षा चेकिङ नाघेर उनीहरू काभ्रे पुगेका थिए। तर, उनीहरुको रफ्तार देखेर प्रहरीले बढी नै केरकार गर्‍यो। फोनमा रिकनफर्म गरेपछिमात्र उनीहरुलाई छाडियो।

प्रहरीले बिरामीको कारण पत्ता लगाए। उनीहरूले परिवारसँग सम्पर्क गराए। माथिको फोनको दृश्य त्यही थियो। प्रहरीले आफन्तको फोनमा कुराकानी गरेर बिरामीको अवस्था बुझेका थिए। प्रहरी कन्भिन्स भयो। त्यसपछि उनीहरू लागे उही रफ्तारमा धरानतिर।

'कतिले त बहाना पारेर आउँछन्। त्यसै छोड्ने कुरा भएन। उनीहरूको घरमा बुझ्दा बिरामी भएर नै गएको पाइयो। त्यसैले छोडेका हौँ,' चेक प्वाइन्टमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) राजकुमार कट्टेलले भने।

सामान्य समयमा व्यस्त रहने चेक प्वाइन्ट अहिले सुनसान छ। अनुमति लिएका सवारी र अत्यावश्यक सवारी आउने गरेका छन्। केही दिन अघि त फर्जी अत्यावश्यक काम देखाए पनि मानिस हिँड्ने गरेकाले अहिले प्रहरीले कडा अनुसन्धान गरिरहेको छ।

'यहाँ त झुटो विवरण र पास बनाएर पनि आएको भेटियो। दिनमा २/४ जना यस्ता मानिस आउँछन्,' असई कट्टेलले भने।

उनले भनेको झुटो विवरण भनेको कोही आफन्त बितेको, बिरामी परेको भन्ने रहेछ। नक्कली पास बनाएर आउने पनि उनले फेला पारेका रहेछन्। 'हजुरबा बितेकाले घर फर्किएको भन्छन्। पछि बुझ्दा त हजुरबा कति वर्ष अघि नै बितेको पाइन्छ,' उनले भने।

उपत्यका भित्रने ठाउँमा गृह मन्त्रालयले कडाइ गर्न निर्देशन दिएपछि त्यसको असर बीपी हाइवेमा पनि परेको थियो। हाइवेमा सुनसान देखिन्थ्यो। सडक छेउमा रहेका साना चिया पसल फाट्टफुट्ट खुलेका थिए तर बाँकी बजार भने सुनसान।

मानिसको गाउँले दैनिकी सामान्य नै थियो। अन्य समयमा गाडीको ओहोरदोहोर हिँड्न समेत मुस्किल पर्ने बताउँदै आएका काभ्रेका मोहन सिग्देल बीच सडकमा भैँसी डोर्‍याएर मस्तसँग हिँडिरहेका थिए। 'गाडीले हान्ला भन्ने डर भएन। त्यसैले अहिले सडकमा केही हुँदैन,' उनी भन्दै थिए।

सडक विस्तार लगायतका काम पनि ठाउँ ठाउँमा जारी देखियो। नत्र सबै सुनसान।



ट्रेन्डिङ पोस्ट

Ncell