
आप्रवासी कामदारहरु फर्किन थालेपछि भारतको ग्रामिण क्षेत्रमा कोरोना भाइरसको संक्रमितको संख्या तीब्र रुपमा बढेको छ। नेपालसँग जोडिएको भारतको बिहारमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुमा आप्रवासी कामदार फिर्ता हुनु नै मुख्य कारण देखिएको छ।
मे १ को तुलनामा ७० प्रतिशत संक्रमित थपिएका छन्। थपिएका अधिकांश गाउँ फर्केका कामदारहरुमा देखिएको हो। बिहारजस्ते झारखण्ड र उडिसामा पनि संक्रमितको संख्या बढ्नुमा कामदार गाउँ फर्किनुलाई कारण मानिएको छ।
बिहारमा मात्र शनिवार ११ जना यसरी फर्केका मजदूरमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। यससँगै बिहारमा कोरोनाको संक्रमणमा पर्नेको संख्या ५ सय ८९ पुगेको छ।
'वितेका १० दिनमा हाम्रो अनुभवले के देखायो भने कोभिड १९ संक्रमितको ६० देखि ७० प्रतिशत बिहारभन्दा बाहिरबाट आएकाहरुमा देखियो,' बिहारका मुख्य स्वास्थ्य सचिव संजय कुमारले भने।
बिहारमा कोरोनाका कारण अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ।