PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउनको ४८ औँ दिन : उपत्यकाभित्र यस्तो छ नयाँ व्यवस्था



पहिलोपोस्ट

लकडाउनको ४८ औँ दिन : उपत्यकाभित्र यस्तो छ नयाँ व्यवस्था

काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको आज ४८ औँ दिन भएको छ। पछिल्लो पटकको मन्त्रिपरिषद्को निर्णय अनुसार लकडाउनको मोडालिटी केही परिवर्तन भएको छ। सरकारले सर्तसहित केही व्यवसाय, सङ्घसंस्था, उद्योगधन्दालाई सञ्चालन गर्न सहजीकरण गरेको छ।

त्यस्तै ४८ दिनदेखि आंशिक रूपमा सेवा दिइरहेका केही बैङ्क तथा वित्तीय संस्थाहरू आजबाट खुल्दैछन्। अन्य साना तथा ठूला पसलहरू पनि खुल्ने देखिएको छ। त्यसैले शनिवार उपत्यकाभित्र सवारी सञ्चालनको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ व्यवस्था लागू गरेको हो।

आज बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाइएको छ। मालबहाक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रवेश पाउने छन्।

त्यस्तै, सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। त्यस्तै बैङ्क तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।

सरकारी कार्यालयका कर्मचारी, बैङ्क वित्तीय संस्था लगायत सरकारले सञ्चालन गर्न सहजीकरण दिएका संस्थाका कर्मचारीले आफ्नो सवारी साधनमा तोकेको समयभित्र कार्यालय जाने र आउने  गर्न पाउने छन्। तर, त्यस्ता संस्थाले सरकारले तोकेको मात्रमा मात्र कर्मचारी काम गर्न पाउने छन्।

'तोकेको समयमा कर्मचारीलाई कुनै रोकावट हुँदैन। तर तोकेको समयभन्दा बाहिर आउनेजाने गर्नु भएन,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

त्यस्तै, अत्यावश्यक खाद्यान्न ढुवानीका सवारी साधनले भने बिहान १० बजेसम्म ढुवानी गरिसक्नु पर्ने व्यवस्था गरिएको छ। अस्पतालमा कार्यरत चिकित्सक, दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक क्षेत्रमा भने यो नियम लागू हुनेछैन।

सडकमा हिँड्नेलाई कारबाही

अनावश्यक रूपमा सडकमा हिँड्ने मानिसलाई भने प्रहरीले कारबाही गर्ने बताएको छ। सरकारले तोकेका क्षेत्रका मानिस निश्चित समयभन्दा बाहिर सडकमा हिँडेमा कारबाहीमा पर्ने प्रहरीले जानकारी दिएको छ। 'लकडाउन खुलिसकेको होइन। निश्चित क्षेत्र सहजीकरण गर्न व्यवस्था मिलाएको हो। त्यसैले अनावश्यक बाहिर निस्किने मानिसलाई पहिलै झैँ कारबाही हुन्छ,' डिआइजी पोखरेलले भने।

त्यस्तै काठमाडौँ उपत्यका भित्रिने नाका भने कडाइ गरिएको छ। नाकाबाट अत्यावश्यक बाहेक कसैलाई पनि प्रवेश गर्न नदिइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell