PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

भुल्केमा सल्बलाइरहेको संक्रमण, थपिइन् एक महिला जसका श्रीमान् पनि थिए संक्रमित



पहिलोपोस्ट

भुल्केमा सल्बलाइरहेको संक्रमण, थपिइन् एक महिला जसका श्रीमान् पनि थिए संक्रमित

काठमाडौँ : कोभिड १९ संक्रमितको संख्या ११० पुग्दा उदयपुरको भुल्के फेरि चर्चामा आएको छ। आज बिहान स्वास्थ्य मन्त्रालयले एक जनामा थप कोरोना संक्रमण भएको जानकारी गराउँदा उदयपुरको भुल्के जोडियो।

४३ वर्षीया महिला पछिल्लो कोरोना संक्रमित हुन्। प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा संक्रमण देखिएको हो। संक्रमण पनि यसरी देखियो कि मानौं नेपालमा कोरोनाको इपिसेन्टर त्यही नै हो। सुरुमा १२ जनामा संक्रमण देखिएको यहाँ क्रमश बढ्दै गयो र आज त्यो संख्या ३२ पुगेको छ।

आइतवार स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले उदयपुरको भुल्केमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएपछि सबैभन्दा बढी प्रभावित जिल्लामा उदयपुरको अग्रता कायमै छ। यसपछि बाँकेमा देखिएका छन् धेरै संक्रमित।

आज थपिएकी महिलालाई अस्पताल लैजाने तयारी भइरहेको छ। उनका श्रीमान् पनि कोरोना संक्रमित नै रहेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पहिलोपोस्टलाई जानकारी दिए। 

'उहाँको श्रीमानमा कोरोना देखिएपछि उहाँको पनि परीक्षण गरिएको हो,' मेयर चौधरीले भने, 'उहाँमा पनि पोजेटिभ नै देखियो। अब अस्पताल लैजाँदैछौं। बाँकी परिवारलाई पनि कहाँ राख्ने र के गर्ने भन्ने छलफल गरिरहेका छौं।'

कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणमा भुल्केकी ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो। उदयपुरको भुल्केमै हिजो (शनिवार)मात्र ३ जना कोरोना संक्रमित थपिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell