PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउनको समयमा सडक खन्न स्थानीय भेला भएपछि प्रहरी पुग्दा झडप



पहिलोपोस्ट

लकडाउनको समयमा सडक खन्न स्थानीय भेला भएपछि प्रहरी पुग्दा झडप

दैलेखः दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाई फायर गरेको छ।

ढुङ्गामुढासहित प्रहरी र स्थानीयबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ। सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी ५०/६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो ।

प्रहरी पुगेपछि एक्कासी प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि बाध्य भएर भिड नियन्त्रणमा लिन जवाफी कारवाहीमा दुई राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।

'लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएको जानकारीपछि बोलाइएको प्रहरीमाथि आक्रमण हुँदा सो घटना भएको हो,' नगरपालिकाका उपप्रमुख तारा शाहीले भने।

उनका अनुसार प्रहरीको बर्दीसमेत च्यातिएको भन्ने खबर आएको छ। शनिवार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो।

उपप्रमुख शाहीले आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेहरुको भीडभाड पनि धेरै भएकाले आफूहरुले प्रहरीलाई त्यहाँ पठाएको बताए। उहाँले त्यो घटनाका बारेमा सबै बसेर, सल्लाह गरेर नियम कानूनअनुसार अघि बढ्ने पनि बताए।

अहिले घटनास्थलमा थप सुरक्षा बल दुल्लूबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी कारवाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रदेश सरकारको रु २० लाख र नगरपालिकाको रु पाँच लाख साझेदारीसहित रु २५ लाख  रकममा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माणकार्य भइरहेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell