
बलिउड फिल्म 'गुलाबो सिताबो' डिजिटल प्ल्याटफर्ममार्फत् सार्वजनिक हुने भएको छ।
सुजित सिरकार निर्देशक उक्त फिल्म यसै वर्ष थिएटर रिलिजको तयारीमा थियो। तर, कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको कारण फिल्म प्रदर्शनमा पनि असर परेको छ। लकडाउन खुले पनि संक्रमण र त्यसको त्रासको असर बाँकी रहने भएकाले सिनेमा हलहरु केही पछिसम्म प्रभावित रहने विश्लेषकको दावी छ। त्यसैले फिल्महरु डिजिटल प्ल्याटफर्ममार्फत् सार्वजनिक गर्ने तयारी भएको हो।
'गुलाबो सिताबो'मा अमिताभ बच्चन र आयुष्मान खुरानाको मुख्य भूमिका छ। बच्चन प्रकाशनाथ द्विवेदी र खुराना सुनीलकुमार शुक्लाका रुपमा प्रस्तुत भएका छन् जसमा उनीहरु क्रमश: घरबेटी र बहालवाला हुन्छन्। उनीहरु बीचको सम्बन्ध र आम मानिसको दैनिक संघर्षको कथा देखाइएको छ।
निर्देशक सिरकार कोरोना भाइरस संक्रमणका कारण स्थगित कामहरु सुरु गर्न पाउँदा खुशी छन्। तर फिल्मका दुई कलाकार भने हल रिलिज नहुने विषयलाई लिएर खुशी छैनन्। बलिउड हंगामाले लेखेको छ – 'यी दुई कलाकार भने अवस्था सामान्य भएपछि फिल्म रिलिज होस् भन्ने चाहन्थे।'
फिल्म निर्माताहरु भने अमाजनसँग सम्झौताको अन्तिम चरणमा छन्।