
काठमाडौं : भारतले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवार जाने सडक बनाएकोमा देशभर विरोध भइरहेको छ। नेपाल र भारतीय पक्षले विज्ञप्ति जारी गरेर सडक निर्माण भएको क्षेत्र आफ्नै भूमि रहेको दाबी गरेको छ। यसैबीच चिनियाँ संचार माध्यमले सगरमाथा आफ्नो भूमिमा पर्ने दाबी गर्दै समाचार सम्प्रेषण गरेका छन्।
मे २ मा प्रकाशित समाचार हाल नेपाली सामाजिक संजालमा भाइरल भइरहेको छ।
In pictures📷: An extraordinary sun halo was spotted Friday in the skies over Mount #Qomolangma, also known as Mount Everest, the world's highest peak located in China's #Tibet Autonomous Region pic.twitter.com/wATFz4DXzI
— CGTN (@CGTNOfficial) May 2, 2020
चीनको एक टोली सगरमाथाको उचाइ नाप्न सगरमाथा क्षेत्रमा पुगिरहेको बेला चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो।
उचाइ नाप्न गएका टोलीहरुबाट प्राप्त तस्विरहरु प्रकाशित गर्दै सीजीटीएनले 'चोमोलुङ्गम' चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने उल्लेख गरेको हो। सगरमाथालाई तिब्बती भाषामा चोमोलुङ्ममा भनिन्छ।
सगरमाथाको उत्तरतिर चीनमा पर्छ र सोही क्षेत्रबाट नै केही दिन अगाडिबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम भएको हो।
चिनियाँ मिडियाले सगरमाथा तिब्बती क्षेत्रमा परेको समाचार प्रकाशन गर्दा सामाजिक संजालमा यसको विरोध भइरहेको छ। उनीहरुले सीजीटीएनलाई गल्ती सच्याउन आग्रह गरेको छ।
त्यसो त लकडाउनको बेलामा सगरमाथाको उचाइ नाप्नु र लिम्पियाधुरामा सडक बनाउनुलाई दुवै देशको रणनीतिक चालका रुपमा समेत हेरिएको छ।
लिम्पियाधुरामा सडक बनाउन चीनको सहमति छ। २०७२ सालमा भूकम्पका कारण नेपाल अस्तव्यस्त बनेको अवस्थामा भारतले चीनसँग नेपाली भूमि लिम्पियाधुरा हुँदै सडक निर्माण गर्ने सहमति गरेको थियो। उक्त सडक खण्डलाई द्वीपक्षीय व्यापारिक मार्ग बनाउने सहमति गरिएमा नेपालले विरोध जनाएको थियो।
केही महिना अघि मात्रै भारतले राजनीतिक नक्सामा त्यही सडक खण्ड समेटेर आफ्नो राजनीतिक नक्सा जारी गर्यो। हाल कोरोनाका कारण लकडाउनमा रहँदा दुवै छिमेकी मुलुकबाट नेपालको क्षेत्रमा भइरहेकोमा धेरैले संदेह व्यक्त गरेका छन्।